काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको हो ।
भाषा परीक्षामा ५ हजार ३ सय कोटा तोकिएको बताइएको छ । जसमा तीन हजार ५०० उत्पादनमूलक क्षेत्र, एक हजार ८०० कृषी तथा पशुपालन क्षेत्रको कोटा रहेको छ ।
एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र फारम भर्न पाउने बताइएको छ । भाषा परीक्षाको उत्तिर्ण परीक्षार्थीहरूले मात्र दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी भएर उत्तिर्ण भएपछि मात्रै रोजगार आवेदन फारम भर्ना पाउने ब्यवस्था छ ।
साउन २६ गतेदेखि ३१ गतेसम्मका लागि खुला गरिएको फाराममा १८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । त्यस्तै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैह्र कानूनी रूपमा बसोबासगरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्ने योग्यता रहेका छन् ।