तत्काल ‘शिक्षा ऐन’ जारी गर्न १६ विद्यार्थी संगठनद्वारा सरकारलाई ध्यानाकर्षण

दियोपोस्ट संवाददाता

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै बिभिन्न १६ बिद्यार्थी संगठनले सरकारलाई ध्यानाकर्षण गराएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीमैत्री ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सरकारले पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि विद्यार्थीका मुद्दा र विधेयकप्रति उपेक्षा गरेको भन्दै बिद्यार्थीहरुले माग पूरा नभए संयुक्त रूपमा संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

विद्यार्थीहले तत्काल विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने, माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्नुपर्ने, खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्ति गर्नुपर्ने, विद्यालय शिक्षा विधेयक विद्यार्थी संगठनसँग छलफल गरेर मात्र टुङ्गो लगाउनुपर्ने र विश्वविद्यालयमा विद्यार्थी कल्याण परिषद्को निर्वाचन गर्नुपर्ने लगायतका ५ बुँदे माग अघि सारेका छन् ।

विधेयकमा शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत मात्र हुने व्यवस्था गर्न आग्रह गरिएको छ । विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक स्थायी गर्नेमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य समितिमा सहमति भएको छ ।

नेपालको संविधान, २०७२ को धारा ३१ मा व्यवस्था भएको शिक्षासम्बन्धी हकबमोजिम प्रत्येक नागरिकले माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क प्राप्त गर्न पाउनुपर्ने व्यवस्था अविलम्ब कार्यान्वयन गर्न विज्ञप्तीमार्फत संयुक्त विद्यार्थी संगठन सरकारसँग माग गरेका छन् ।

सम्बन्धित खबर