‘विश्वास बहुउदेश्यीय सहकारी संस्था’का अध्यक्षसहित पदाधिकारीहरु करोडौ रुपैयाँ ठगी गरि फरार

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका–१० स्थित न्यूरोडमा रहेको ‘विश्वास बहुउदेश्यीय सहकारी संस्था’ लिमिटेडका अध्यक्षसहित सञ्चालक समितिका सात जना पदाधिकारीहरु फरार भएका छन् । उनीहरु बचतकर्ताको करिब पाँच करोड रुपैयाँ ठगी गरेर फरार भएका हुन् ।

फरार हुनेहरुमा सहकारीका अध्यक्ष ४३ वर्षीय दमन्ता घिमिरे, सचिव ३८ वर्षीय अमृत कटुवाल, सहसचिव २५ वर्षीय गोपाल अधिकारी, कोषाध्यक्ष ४४ वर्षीया भारती न्यौपाने गौतम, सदस्य २९ वर्षीया अनिता थापा र सदस्य ३८ वर्षीय रोहित खड्का छन् ।

लामो समयसम्म फरार भएपछि उनीहरुलाई फरार प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध यसअघि पनि मुद्दा दर्ता भएको थियो ।

लामो समयसम्म सम्पर्कमा नआएपछि उनीहरुलाई फरार प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रतिवेदन बुझाइएको छ ।

सहकारीमा पाँच करोड रुपैयाँ अपचलन भएको अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा ठगी कसुरमा मुद्दा दायर गरेको बताइएको छ ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ को ठगी गर्न नहुने कसुरमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो । जसअनुसार सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

अनुसन्धान अधिकारीका अनुसार बचकर्ताको रकम उनीहरुले बाँडफाँड गरी बिना धितो ऋण भन्दै लगेर नतिरी फरार भएका हुन् ।
यसअघि २६ माघ २०८० मा १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको भन्दै उनीहरुबिरुद्ध मुद्दा दर्ता भएको थियो ।