‘कुलिङ पिरियड’ गडबढी छानबिन सम्वन्धि प्रतिवेदन सभामुख समक्ष पेस

दियोपोस्ट संवाददाता

काठमाडौं । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’मा भएको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सभामुख समक्ष प्रतिवेदन पेश गरेको छ । समितिले मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा आयोजित एक कार्यक्रमका बीच सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको हो ।

संघीय निजामती सेवा विधेयक २०८२ अन्तर्गत ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएका गडबढीको अनुसन्धानका लागि प्रतिनिधि सभाले ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो। यसमा नेपाली कांग्रेस र एमालेबाट दुई–दुई जना, बाँकी दलबाट एक–एक गरी सात जना सांसदहरू सदस्य थिए  ।

सभामुखले अनुसन्धानका लागि समिति सदस्यहरूलाई सुरुमा २१ दिनको समय दिएका थिए । समयमै काम सम्पन्न नहुने देखिए पछि म्याद थप गरी साउन १९ गतेसम्म काम सम्पन्न गर्न आग्रह गरिएको थियो  ।

निर्धारित समयसिमामा छानबिन सम्पन्न गरि बैठकमा प्रतिवेदन प्रस्तुत गरिएको संसद सचिवालयले जनाएको छ । आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएको थियो । रातभरको छलफलपश्चात् आज बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको हो ।

कुलिङ पिरियडमा मानवीय त्रुटि तथा लापरबाहीका कारण गडबढी आएको समितिले निष्कर्ष निकालेको छ । यो प्रतिवेदनमा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडलाई मुख्य जिम्मेवार बनाइएको छ ।

छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कांग्रेसकै सांसद सुशीला थिङ सदस्य छिन् ।

नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।