
काठमाडौं । पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय वादोरियो कराते टोली बुधबार श्रीलंका जाने भएको छ । अगष्ट ७ र ८ तारिखमा श्रीलंकाको रत्नापुरामा हुने प्रतियोगितामा सहभागी हुन ३ पुरुष र २ महिला खेलाडी त्यसतर्फ जान लागेका हुन् ।
टोलीलाई पूर्व प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व मन्त्री शक्ति बस्नेतलगायतले खुमाल्टारमा मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
अध्यक्ष दाहालले वादोरिायो करातेले विगत जस्तै यो प्रतियोगितामा पनि पदक जित्ने विश्वास व्यक्त गर्दै सफलताका लागि शुभकामना दिए । बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलालगायतको उपस्थिति रहेको थियो ।
सो प्रतियोगितामा पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्ने छन् ।
महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले खेल्ने छन् । प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी तथा अफिसियलमा राजकुमार कार्की रहेका छन् ।