सप्तरीमा गोली चल्यो, एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सप्तरीस्थित नेपाल-भारत सीमावर्ती क्षेत्र राजग‍ढ गाउँपालिका-२ कमलपुरमा गोली चलेको छ । प्रहरीले गएराति करिब साढे १० बजे गोली चलाएको हो।

तस्कर समूहले प्रहरी टोलीमाथि आक्रमण गर्दा प्रतिरक्षामा प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको डिएसपी बस्नेतले बताए ।

प्रहरीको गोली लागेर राजगढ-२ का ३५ वर्षीय लालु यादवको मृत्यु भएको डिएसपी बस्नेतले बताए । यादवको तिघ्रामा लागेको र उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा उनको मृत्यु भएको थियो ।

उक्त ठाउँमा ठूलो मात्रामा मदिरा अवैध रूपमा लुकाइछिपाइ राखिएको छ भन्ने सूचनाका आधारमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली खटाइएको थियो।

प्रहरी पुगेपछि झन्डै सय जना मानिसहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। उनीहरूले लाठी र घरेलु हतियारसहित प्रहरीलाई घेर्न पुगेपछि प्रहरीले हवाई फायर गरेको थियो।

हवाइ फायर गर्दा पनि प्रहरीमाथि जाइलागेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको थियो । प्रहरीले गोली चलाएपछि भिड तितरबितर भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस