बिर्घाकी ‘शिक्षिका’ छोरासहित कालीगण्डकीमा बेपत्ता

दियोपोस्ट संवाददाता

काठमाडौँ । स्याङ्जास्थित कालीगण्डकी गाउँपालिका-४, बिर्घाकी २७ वर्षिया श्यामकला पाण्डे आफ्नो ६ वर्षिय छोरासहित बेपत्ता भएकी छन् । बुधबार दिउँसो मिर्मि बजारमा रहेको ‘कालिगण्डकी अस्पताल’मा उपचारका लागि निस्केकी उनी कालीगण्डकी नदी किनारमा जुत्ता, ब्याग र मोवाइल राखेर बेपत्ता भएकी हुन् ।

उनको खोजी कार्य जारी रहेको कालीण्डकी गाउँपालिकाका, वडा नम्बर ४ का वडा अध्यक्ष यादब प्रसाद पाण्डेले जानकारी दिए । बिर्घास्थित ‘सिर्जना आधारभुत बिद्यालय’की शिक्षिका समेत रहेकी पाण्डे ढाड दुख्ने समस्याका कारण घरपरिवारको सल्लाह अनुसार उपचारका लागि बुधबार दिउँसो अस्पताल जान भनि निस्केको वडा अध्यक्ष पाण्डेले बताए ।

‘घरबाट निस्के पछि उनी अस्पताल गएको भेटिएन । उनको ब्याग, मोवाइल, बच्चाको जुत्ता र उनले लगाउने चप्पल नदीको किनारमा भेटिएपछि उनी बच्चासहित नदीमा हाम फालिन भन्ने आशंका भयो । सामान भेटिएको स्थानबाट उनी कतै गएको देखिएन । त्यसकारण उनी नदीमा हाम फलेर बेपत्ता भईन् भन्ने हाम्रो अनुमान छ, ’ वडा अध्यक्ष पाण्डेले भने, ‘५ देखि ७ मिनेटको अन्तरालमा उनी बेपत्ता भएको पाइएको छ । उनको खोजी कार्य जारी छ ।’

श्यामकलाले कालीगण्डकीमा हाम फाल्नुको कारण पत्ता नलागेको वडा अध्यक्ष पाण्डेले बताए । श्यामकला आफ्नो छिमेकी भएका कारण उनलाई राम्रो संग चिनेको र उनको आचरण निकै राम्रो रहेको उनले जानकारी दिए ।

‘घरमा पनि माइतीमा जस्तै माया ममता पाइरहेकी थिइन् । स्थानीय सिर्जना आधारभुत विद्यालयमा पनि उनलाई मेरै अध्यक्षतामा नियुक्ति दिइएको थियो । बच्चाले पनि सोही विद्यालयमा पढ्दै थियो । कुनै समस्या थिएन । एक्कासी यस्तो खबर आएपछि हामी अचम्ममा परेका छौँ,’ उनले बताए ।

बुधबार दिउँसोदेखि वालिङबाट नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानीय जनप्रतिनिधिको टोलीले नदी छेउछाउ तथा संभावित स्थानमा खोजी कार्य जारी राखेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताए ।

श्यामकलाको माइती स्याङ्जास्थित अर्वेनीमा पर्छ । उनी केही दिन देखि माइतीमा रहँदै आएकी थिइन् । उनका श्रीमान मणी पाण्डे रोजगारीका सिलसिलामा विदेशमा छन् । उनका ६ वर्षिय छोरा अर्पित पाण्डे सो दिन आमासंगै अस्पताल जान भनि निस्किएका थिए ।

नदि किानरमा भेटिएको गुलाबी रंगको ब्याग, मोवाइल र चप्पल आफ्नै बुहारीको भएको र जुत्ता नातीको भएको भन्दै उनका ससुरा भिम प्रसाद पाण्डेले प्रहरीमा उजुरी दिएका छन् ।

अहिले घटनास्थलमा प्रहरी,स्थानीय जनप्रतिनिधि र मानिसहरुको भिडभाड सहित खोजी कार्य जारी रहेको प्रहरीले बताए ।