मिर्गौला बेचबिखनमा संलग्न गिरोह काठमाडौँ र काभ्रेबाट पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली युवालाई भारत पुर्यएर मिर्गौला निकाल्ने गिरोहलाई नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ । ब्युरोको टोलीले काठमाडौंबाट २ र काभ्रेबाट २ गरि ४ जनालाई पक्राउ गरेको हो ।

उक्त गिरोहले पछिल्लो एक वर्षमा ५० भन्दा बढी व्यक्तिलाई भारतका बिभिन्न स्थानमा पुर्‍याएर मिर्गौला निकालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

गिरोहले कमजोर आर्थिक अवस्था भएका व्यक्तिलाई प्रलोभनमा पारेर भारत पुर्‍याउने र त्यहीँ मिर्गौला निकालेर नेपाल पठाउने गरेको पाइएको प्रहरीले जानकारी दिए । प्रतिव्यक्ति ५ देखि ७ लाखसम्म रकम दिएर नेपाली युवालाई भारत पुर्‍याएर मिर्गौला निकाल्ने गरेको खुल्न आएको छ ।

मिर्गौला निकालिएका केही व्यक्ति प्रहरी सम्पर्कमा आएको प्रहरीले बताए । यसअघि काभ्रे र सिन्धुली लगायत ठाउँका मानिसलाई गिरोहले यसैगरी संगठित रुपमा भारत पुर्‍याएर मिर्गौला निकाल्ने गरेको तथ्य उजागर भएको थियो ।