
काठमाडौँ । डी.ए.भी. बिजनेस स्कुल र ह्युमन रिसोर्सेज सोसाइटी नेपालको संयुक्त आयोजनामा दोस्रो संस्करणको डी.ए.भी. कर्पोरेट फुटसल प्रतियोगिता २०२५ सफलतापूर्वक सम्पन्न भएको छ।
जुलाई ३० देखि अगस्ट २ सम्म चलेको यस प्रतियोगिताले उद्योग, व्यवसाय र शैक्षिक क्षेत्रबीच मित्रता, समूहगत भावना, व्यावसायिक सञ्जाल विस्तार तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गरेको थियो।
प्रतियोगितामा बैंकिङ, बीमा, ट्रेडिङ, आईटी, अटोमोबाइल र उत्पादन लगायतका विभिन्न क्षेत्रबाट आएका ३२ कर्पोरेट टोलीहरूले सहभागिता जनाएका थिए।
प्रतियोगिताअघि टोलीका कप्तानहरू, प्रबन्धकहरू तथा प्रतिनिधिहरूले डी.ए.भी.बिजनेस स्कुलका एमबीए कार्यक्रम संयोजक श्री राजेश कुमार चौधरी नेतृत्वको आयोजक समितिसँग छलफल गरेका थिए।
यस सत्रको समापन धन्यवाद ज्ञापन गर्दै चौधरीले गरेका थिए । प्रतियोगिताको भव्य उद्घाटन समारोहमा ह्युमन रिसोर्सेज सोसाइटी नेपालका अध्यक्ष श्री टेकराज शर्माले उद्योग–शैक्षिक साझेदारीको महत्वबारे चर्चा गरे ।
नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान भरत खवासले स्वस्थ्य मस्तिष्क र शरीरका लागि खेलकुदको भूमिकामाथि जोड दिए ।
डी.ए.भी. बिजनेस स्कुलका अध्यक्ष श्री अनिल केडियाले खेलकुदलाई व्यावसायिक एकता र दृढताको माध्यमका रूपमा औपचारिक रूपमा प्रतियोगिता उद्घाटन गरेका थिए ।
प्रतियोगितामा ३२ लिग खेल तथा १५ नकआउट चरणहरू पार गर्दै डिश होम प्रा।लि। र कोड हिमालय प्रा.लि.बीच फाइनल खेल रोमाञ्चक रुपमा सम्पन्न भएको थियो । उक्त खेलमा डिश होम विजयी हुँदै १ लाख रुपैयाँ नगद ट्रफी र मेडल प्राप्त गरेका थिए ।
उपविजेता बनेको कोड हिमालयले रु. ५५ हजार, ट्रफी र मेडल प्राप्त गर्यो। सहभागी सबै ३२ टोली, प्रायोजक तथा रेफ्रीहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताले सहभागिहरूबीच व्यावसायिक सञ्जाल विस्तार, समूहगत भावना तथा स्वास्थ्य प्रवर्द्धनमा ठूलो सफलता प्राप्त गरेको बताइएको छ। सहभागीहरूले आगामी संस्करणहरूमा सहभागी हुन उत्सुकता व्यक्त गरे।
डी.ए.भी. बिजनेस स्कुलले सम्पूर्ण सहभागी, अधिकारी, प्रायोजक, स्वयंसेवकहरू तथा विशेषगरी मुख्य साझेदारहरू ह्युमन रिसोर्सेज सोसाइटी नेपाल, सुजल डेरी प्र.लि., सिप्रदी ट्रेडिङ प्रा.लि., र मुसकप्रति आभार ब्यक्त गरेको छ।
