काठमाडौँ । गत मंगलबार उत्तराखण्डस्थित धराली बजारमा आएको विनाशकारी बाढीपछि वेपत्ता भएका धादिङका ४ जना मजदुर सम्पर्कमा आएका छन् । चारदिनदेखि सम्पर्कबिहिन अवस्थामा रहेका उनीहरु शुक्रबार परिवारको सम्पर्कमा आएका हुन् ।
गत चैतमा मजदुरीका लागि उत्तराखण्डस्थित धराली पुगेका धादिङ ज्वालामुखी गाउँपालिका २ काफलपानीका ५३ वर्षिय लाल बहादुर तामाङ, सोही ठाउँका ६५ वर्षिय छोलामा तामाङ, ५५ वर्षिय फेलामा तामाङ र ४८ वर्षिय सिंह बहादुर तामाङ आज मात्रै सम्पर्कमा आएको पारिवारिक स्रोतले जनाएको छ ।
मंगलबार देखि श्रीमानलाई फोन सम्पर्क नभएका कारण चिन्ताका रहेकी फेलामा तामाङकी श्रीमती पन्थे तामाङले आज मात्रै श्रीमानसंग फोन सम्पर्क भएको बताएकी छन् ।
उनले परिवारसंग सम्पर्कमा आएपछि आफुहरु बस्दै आएको ठाउँमा बाढी आएलगत्तै भागेर अन्यत्रै गई ज्यान बचाएको बताएका थिए । टेलिफोनको नेटवर्कमा समस्या भएका कारण चारदिनदेखि परिवारसंग सम्पर्क हुन नसकेको उनीहरु बताएका पारिवारिक स्रोतले जनाएको छ ।
उनीहरुले परिवारलाई फान गरेर आफुहरु सकुशल रहेका बताएका थिए ।