काठमाडौं प्याब्सन फुटसल उपाधि ‘पिस प्वाइन्ट’लाई

दियोपोस्ट संवाददाता

काठमाडौं । पिस प्वाइन्टले प्याब्सन काठमाडौं छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । सुकेधारास्थित बागमती स्कुलमा भएको फाइनल खेलमा पिस प्वाइन्ट च्याम्पियन बनेको हो ।

पिस प्वाइन्टले एक्टिभलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । पिस प्वाइन्टका प्रज्ञान राईले ह्याट्रिक गरे भने दिलिप राई, आयुश लिम्बू, सागर दर्जी र सुमन बमले समान १–१ गोल थपे । एक्टिभका विनोद बुढाथोकीले सान्त्वना गोल फर्काए ।

काठमाडौं प्याब्सनको आयोजना तथा काठमाडौं महानगर प्याब्सनको व्यवस्थापनमा भएको प्रतियोगितामा शुभकामनाले ह्वाइट हेभनलाई ३–१ गोलले हराउदै तेश्रो भयो ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेको काठमाडौं महानगर प्याब्सनका सचिव एवं गण्डकी स्कुलका प्रिन्सिपल आरसी भट्टले जनाएका छन् ।

एक्टिभका विनोद भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । पिस प्वाइन्टका सागर दर्जी उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर १२ गोल गरेका पिस प्वाइन्टका प्रज्ञान राई सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सन्जेल, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, बागमती स्कुलका संस्थापक प्रिन्सिपल सुरेन्द्र सिटौला, प्याब्सन केन्द्रीय सचिवालय सदस्य प्रहलाद खनाल, काठमाडौं महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, एन्जल्स हार्ट स्कुलका प्रिन्सिपल धनबहादुर पुन, काठमाडौं महानगर प्याब्सनका इसीए विभाग प्रमुख राजकुमार बोगटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगतामा काठमाडौं महानगर र काठमाडौंका विभिन्न ९ महानगरपालिका विद्यालयका ४५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुदर्शन जमकटेलले जनाएका छन् ।

समापनका अवसरमा मेडिकल पार्टनर मेडिकेयर अस्पताल, चावहिल, सुरक्षाकर्मी र बागमती स्कुललाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

अशोक उत्कृष्ट निर्णायक
नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का आठौं गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

मलेसियाको क्वालालम्पुरमा सम्पन्न प्रतियोगितामा अशोक उत्कृष्ट निर्णायक घोषित भएका हुन् । अशोक मलेसियाबाटै अस्ट्रेलियामा हुने विभिन्न चार विश्व वरीयता प्राप्त तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाने छन् ।

मलेसियाको प्रतियोगितामामा नेपाली खेलाडीले ३ स्वर्ण र १ रजत जितेका थिए । पुरुष ४० केजीमुनि केनिश खड्का, ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ, स्पिड किकमा आयुश बोहरा र ७४ केजीमुनि सन्दिप बस्नेतले रजत जितेका थिए ।

टोली प्रमुखमा महेन्द्रराज घिमिरे, व्यवस्थापकमा गणेशबहादुर खड्का र प्रशिक्षकमा श्रीकृष्ण खड्का रहेका छन् ।

टोखाको दुबल एस फिट्नेस डोजो गोर्खा खुकुरी मार्सल आर्ट्स अन्तर टोखा÷तार्केश्वर नगरस्तरीय प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । दुबलले ८ स्वर्ण, ४ रजत र १ कांस्य जित्दै टिम च्याम्पियन बनेको आयोजक गोर्खा खुकुरी मार्सल आर्ट्स संघले जनाएको छ ।

टोखा ८ स्थित निर्मल वाटिका फुटसलमा भएको प्रतियोगिताको पुरुषमा पुस्कर रोकाया, निराजन बोहरा, युवराज खड्का, प्रेम नगरकोटी र राजकुमार तामाङ उत्कृष्ट फाइटर घोषित भए । महिलाको खुला तौलसमूहमा पूजा सन्ज्याल र रविना लामा तथा सिनियरमा सुप्रिमा धामी उत्कृष्ट चुनिए ।

प्रतियोगिताको पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्घाटन गरेका थिए भने विजेतालाई पूर्व उप्रधानमन्त्री भीम रावललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । एकदिने प्रतियोगितामा १ सय ५० खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक संघले जनाएको छ ।

सम्बन्धित खबर