
काठमाडौं । जिल्ला अदालत रुपन्देहीले रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्न आदेश दिएको छ । लामिछानेले बिगो बराबरको जमानत बुझाएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदन उपर अदालतले आज फैसला गर्दै थुनामै राख्न आदेश दिएको हो ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राख्ने आदेश दिएको थियो । लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिएका थिए ।
लामिछानेले आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रूपैयाँको बैंक जमानत पनि साउन १९ गते निवेदनसँगै दाखिला गरेका थिए ।
उनको निवेदनउपर बहस सकिएलगत्तै रुपन्देही जिल्ला अदालतले उनलाई थनामै राख्न आदेशदिएको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् ।