‘नेप्से एआई’ एपबाट लाखौं रुपैयाँ गायब भएको तथ्य सार्वजनिक, एप प्रयोग नगर्न सिआइबीको आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘नेप्से एआई’ नामक एप प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । ‘नेप्से एआई’ एप डाउनलोड गर्दा लाखौं रुपैयाँ रकम गायब भएको तथ्य सार्वजनिक भएको भन्दै सिआइबीले एप डाउनलोड तथा प्रयोग नगर्न आग्रह गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीमा यस विषयमा उजुरीहरू दर्तासमेत भएको र ‘नेप्से एआई’ एप डाउनलोड गर्दा एउटा व्यक्तिको मात्रै २८ लाख ६१ हजार रुपैयाँ बैंक खाताबाट गायब भएको बताइएको छ ।

‘नेप्से एआई’ एपमार्फत बढि भन्दा बढि नाफा कमाउन सक्ने जस्ता भ्रामक सूचना प्रवाह गरी त्यस्ता एप डाउनलोड गर्न प्रेरित गर्ने र उक्त एप डाउनलोड गरे पश्चात रिमोट सेसन खोलि खातामा भएको सम्पुर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर भई पिडितको डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डाटा मेटाएर प्रमाण नष्ट गरिदिने जस्ता कार्य भईरहेको भन्ने सूचना तथा उजुरी प्राप्त भइरहेको हुँदा यस्ता प्रलोभनमा परी ‘नेप्से एआई’ लगायतका कुनै पनि अपरिचित लिङक तथा एपहरु क्लिक, डाउलोड तथा इन्सटल नगर्नु हुन सर्वसाधरणमा अनुरोध गरिएको छ,’ सिआइबीले भनेको छ ।

सिआइबीले सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम र टिकटकमा यस्ता विज्ञापन आउने गरेको र त्यस्ता एप डाउनलोड गर्दा बैंकको पैसा गुम्ने गरेको जानकारी दिएको छ। त्यसकारण यस्ता एप डाउनलोड गर्दा विशेष ध्यान पुर्‍याउन व्युरोले आग्रह गरेको छ।

‘जोन डोइ (सांकेतिक नाम)ले सामाजिक संजाल फेसबुकमा देखिएको विज्ञापनबाट शेयर बजारको बिश्लेषण गर्नको निम्ति नेप्से एआई नामक एप डाउनलोड गर्ने गरेको र एप इन्सटल गरे पश्चात उक्त एपमा रिमोट सेसन खुल्नसाथ निजको मोवाइल स्क्रीन केहि समय ब्ल्याङ्क भई निजको बिभिन्न बैंक खातामा भएको रु २८,६१,०००। रकम अन्यत्र खातामा ट्रान्सफर भएको र निजको मोबाईलमा रहेको सम्पूर्ण डाटा तथा एपहरु समेत मेटाएको भनि यस कार्यालयमा उजुरी प्राप्त र यस्ता कयौँ ठुला विगतका घटनाका उजुरीहरु समेत प्राप्त भईरहेको छ,’ सिआइबीले भनेको छ ।

सिआइबीले गुगल एप स्टोर र आइओएसजस्ता आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्न आग्रह गरेको छ। त्यस्तै टु फ्याक्टर अथेन्टिकेशन कोड राख्न, बेलाबेला पासवर्ड परिवर्तन गर्न, सामाजिक सञ्जालमा देखिएको विज्ञापनको तथ्य बुझेर मात्र गर्ने, एनी डेस्क र टिम भ्युअरजस्ता रिमोट एक्सेल अरुलाई नदिन आग्रह गरेको छ। त्यस्ता घटना घटेको थाहा पाए प्रहरीलाई जानकारी दिन पनि आग्रह गरिएको छ।