काठमाडौँ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै मान्यता दिने निर्णय गरेको छ । नाउपाको राष्ट्रिय भेला मार्फत अध्यक्ष बनेका लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि आयोगले रन्जितालाई नै मान्यता दिने बताएको हो ।
राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जितानै अध्यक्ष भएको आयोगले हिजो राति निर्णय गरेको बताइएको छ ।
आयोगले केही दिन पहिले आफू अध्यक्ष भएको दाबी गर्दै लालवीर र रन्जितासंग जवाफ माग गरेको थियो । सोही जवाफ, ऐन, कानुन र विधानको आधारमा रहेर आयोगले रन्जितालाई नै अध्यक्ष कायम गरिएको बताएको छ ।
नाउपामा एक समूहले राष्ट्रिय भेला मार्फत रन्जिता श्रेष्ठलाई हटाउँदै लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो ।