झापास्थित बालुवाटार जग्गा प्रकरण : माओवादी नेता पुरीसहित ९ जना दोषी ठहर

दियोपोस्ट संवाददाता

काठमाडौँ । झापाको बालुवाटार जग्गा प्रकरणमा ९ जना दोषी ठहर भएका छन् । सरकारी जग्गा व्यक्तिको नाममा पठाई सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंले माओवादी नेता गगन पुरीसहित ९ जनालाई दोषी ठहर गरेको हो ।

अदालतले पुरीलाई मुख्य अभियुक्त ठहर गर्दै एक वर्ष कैद र २० लाख ८३ हजार ६ सय ७१ रुपैयाँ जरिवाना ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले पुरीलाई कैद र जरिवाना ठहर गरेको थियो ।

इजलासले पुरीसंगै सात जना मालपोत र नापीका कर्मचारी तथा दुई जना जग्गाधनीलाई दोषी ठहर गर्दै जरिवाना र कैदको फैसला सुनाएको छ। नापी कार्यालय झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशिकान्त झा, सर्वेक्षक सीताराम यादव, विन्देश्वर पञ्जियार, नापी अधिकृत रामदेव मण्डल धानुक, सर्वेक्षक विष्णुदेव यादव, अमिन ललितकुमार मण्डल, नायब सुब्बा रुद्रप्रसाद श्रेष्ठ, सर्वेक्षक रामकुमार दास र सर्वेक्षक गणेशकुमार धिमाल छन् ।

उनीहरुको प्रत्यक्ष संलग्नतामा सरकारी जग्गा व्यक्तिको नाममा पठाइएको थियो । अदालतले उनीहरुलाई एक वर्षदेखि तीन महिनासम्म कैद र भूमिका अनुसार जरिवाना ठहर गरेको छ ।

विशेष अदालतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को १ को उपदफा ‘ज’ अनुसार मूल प्रतिवादी सरह सजाय हुने फैसला सुनाएको हो ।