
काठमाडौँ । एनएन मेरिटाइम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक त्रिलोक सिंहलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको नाममा करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।
सिंहले बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ६६ जनाबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम लिएर ठगी गरी फरार भएका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार कास्कीबाट पक्राउ गरेको थियो ।
बझाङ जिल्ला, बङ्गल नगरपालिका वडा नं ६ स्थायी घर भएका सिंहले बैदशिक रोजगारीका नाममा करोडौँ ठगी गरेको भन्दै पीडितले जाहेरी दिएका थिए । आफु बिरुद्ध जाहेरी दर्ता भएलगत्तै फरार रहेका सिंह पोखरामा लुकीछिपी बसेको सूचनाका आधारमा पक्राउ परेका थिए ।।
प्रहरीले उनलाई थप अनुसन्धान र कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाएको छ ।