काठमाडौँ । अमेरिकी सहयोग नियोग (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत सञ्चालित १८ किमि विद्युत् प्रसारण आयोजना अन्तर्गत लामो सीमापार प्रसारण लाइन निर्माणका लागि सम्झौता सम्पन्न भएको छ । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ठेक्का पाउने ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङदेले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
अर्थ सचिव तथा एमसिए–नेपाल सञ्चालक समिति अध्यक्ष डा. रामप्रसाद घिमिरेका अनुसार, यो प्रसारण लाइनले नेपालको आन्तरिक ऊर्जा आपूर्ति लक्ष्य पूरा गर्न र क्षेत्रीय ऊर्जा बजारमा नेपालको भूमिका बलियो बनाउनेछ ।
यस १८ किमि खण्डको काम सुरु भइसकेपछि बाँकी २९७ किमि प्रसारण लाइनका लागि बोलपत्र आह्वान गर्ने तयारी भैरहेको र यसै वर्षको अन्त्यसम्म प्रक्रिया अघि बढाउने उद्देश्य राखिएको छ ।
यस आयोजनाले नेपालको ऊर्जा प्रणालीमा दुई महत्वपूर्ण पक्ष–उर्जा उपलब्धता र अन्तरदेशीय उर्जा व्यापार–लाई ठोस आधार प्रदान गर्ने बिस्वास गरिएको छ ।
यस १८ किमि प्रसारण लाइन सम्झौताको हस्ताक्षरले नेपाल–भारत उर्जा सहकार्यमा नयाँ अध्याय सुरु गरेको छ । आगामी २१ महिनामा यसको सफल कार्यान्वयनले नेपालको ऊर्जा संरचनामा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।