
बाजुरा । बाजुरास्थित विच्छ्या खोलामा बुधवार राति आएको बाढीले हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ । बाढीका कारण सात घरमा क्षति पुर्याउनुका साथै १७ घर जोखिममा परेका छन् ।
गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए । उनकाअनुसार बाढीले सोही गाउँपालिका–१ का नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुगेको छ ।
सोही गाउँपालिका–५ का नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार, अङ्गविर चदाराको घर बगाएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए । बाढीले बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढाथापा, वीरभान लुहार र डवल लुहारको घर बगाएको प्रहरी निरीक्षक चौधरीले बताए ।
बाढीले सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनासमेतमा क्षति पुगेको गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले जानकारी दिए ।