
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहतको देशकै एकमात्र ‘राष्ट्रिय ट्रमा सेन्टर’मा आर्थिक र प्रशासनिक अनियमितता भएको खुलासा भएको छ। ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले कर्मचारी भर्ना प्रक्रियामा मोटो रकम असुल गरेको र मेडिकल माफियासँग मिलेमतोमा उपकरण तथा सामान महँगोमा खरिद गरी कमिसन लिएको आरोप लागेको छ।
गत हप्तामात्रै उनले एक दर्जनभन्दा बढी कर्मचारी दरबन्दीविनै नियुक्ति गरेका थिए। सेन्टरका एक कर्मचारीका अनुसार डा. रिजालले हेल्थ असिस्टेन्ट, मेडिकल अफिसर, स्टाफ नर्सदेखि ल्याब कर्मचारीसम्म नियुक्त गर्दा प्रति व्यक्ति ३ देखि ५ लाख रुपैयाँसम्म असुलेका थिए।

रिजालले पाँचजना हेल्थ असिस्टेन्ट करिना गिरि, पुजा चौधरी, उपेन्द्र धामिलाई बिना दरबन्दी नियुक्ति गरेका थिए । त्यस्तै ५ जना मेडिकल अफिसर डाक्टर नेहा ठाकुर, डा.अफ्रिदी सिद्धिगी, डा.सुरज कुमार झा, डा.प्रभात शाह, डा.पुजा यादव र डा.रौनियारलाई बिना दरबन्दी नियुक्ति गरेको उनले बताए ।
प्रमुख रिजालले ९ जना स्टाफ नर्स लगायत १० जनालाई नियुक्ति गरेका छन् । त्यस्तै ल्यावमा ४ जना कर्मचारी भर्ना गरिएको सेन्टरका कर्मचारी बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयबाट सिफारिस भएर आएकाहरुलाई समेत माथिबाट भनेर मात्रै कहा हुन्छ ? यहाँ पनि मिलाउन पर्छ । उता नभन्नु’, भन्दै मोटो रकम असुल गरेर आफु निकटका ब्यक्तिलाई मात्रै मनपरी ढंगले कर्मचारी भर्ना गरेको कर्मचारीहरु बताउँछन् ।

कर्मचारी भर्ना गर्दा अस्पतालकै एक बिचौलिया मार्फत रकम असुल्ने गरेको स्वास्थ्य मन्त्रालय सचिवालयका एक कर्मचारीले बताए । उनी भन्छन ‘उहाँले कर्मचारी र ब्यापारीलाई दुःख दिदै बार्गेनिङ गर्ने गरेको सुचना हामी कहाँ पनि आएको छ । उहाँले त स्वास्थ्य मन्त्रीकै बदनाम गर्नुहुने भयो । उहाँको बारेमा अब सोच्नु पर्ने बेला आयो ।’
प्रतिष्ठानका एक पदाधिकारीका अनुसार ट्रमा सेन्टरको ब्यवस्थापन समितिको अध्यक्ष प्रतिष्ठानको रजिस्ट्रार हुनेभए पनि डा.रिजालले उनीबाट टिप्पणी सदर नगरी कर्मचारी नियुक्ति गरेका थिए । आर्थिक सम्बन्धि फाइल समेत पेश नगरेका कारण ट्रमा सेन्टरमा आर्थिक पारदर्शिता नभएको उनले बताए । उनले भने, ‘ट्रमा सेन्टर डा रिजालको निजि अस्पताल जस्तो भएको छ ।’

डा. रिजाल नेपाल मेडिकल एसोसिएसनका पूर्व महासचिव एवं वर्तमान उपाध्यक्ष हुन । उनले एसोसिएसनको आगामि कार्याकालका लागि अध्यक्षको दाबेदारी गरिरहेका छन् । उनको कार्यशैली प्रति अस्पताल कर्माचरी र पदाधीकारीसमेत असन्तुष्ट भएको एक कर्मचारीले बताए ।
वर्तमान पदाधिकारी, पुर्व पदाधिकारीहरु, उनी निकट पार्टीका महामन्त्रीले नै रिजालले ट्रमा सेन्टरमा चरम अनियमितता गरेको भन्दै आलोचना गर्ने गरेका छन् । एसोसिएसनको आगामी चुनावमा उनलाई टिकट दिन नहुने र उनलाई ट्रमा सेन्टरमा सिफारिस गर्नु नै भुल भएको पुर्व पदाधिकारीले बताए ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री रिजाल नेपाल सरकारको ११ औँ तहका कर्मचारी तथा कार्यालय प्रमुख हुन । उनले गैरकानुनी तथा अबैध रुपमा निजि अस्पतालमा करोडौं लगानि गरि नियमविपरीत कार्य गरेको पूर्व पदाधीकारीले बताए । डा. रिजाल निजी अस्पतालका सञ्चालक समेत हुन् । उनको काठमाडौं गोङ्गबुमा अवस्थित (दर्ता नम्बर ८६२२१/०६८/०६९) ‘अल नेपाल हस्पिटल प्रा.लि’ छ ।
उनी २०७८ सालमा देखि उक्त हस्पिटलको अध्यक्ष रहेका छन् । २०७८ फगुन १४ गतेको वार्षिक साधारण सभाको बैठकमा अध्यक्षतामा गरेदेखि उनको हस्ताक्षर रहँदै आएको छ ।उनले गरेको आर्थिक अनियमितता र भ्रष्ट्रचारको विषयमा २०८२ साउन २७ गते प्रधानमन्त्री कार्यालय, अक्तियार दुरुपयोग, सर्तकता केन्द्र, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी परेको छ ।







