कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ । कुवेतमा विषाक्त मदिरा सेवन गरेका कारण १६ जना नेपालीको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपालीको संख्या शनिबारसम्म १६ पुगेको हो ।

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले अहिलेसम्म १६ नेपालीको मृत्यु भएको जानकारी दिएको छ । अध्यक्ष एकराज मल्ल र सचिव आङकाजी शेर्पाले शुक्रबार विज्ञप्ति जारी गर्दै १६० बढीको स्थानीय अस्पातलको सघन उपचार कक्षमा उपचारत भइरहेको जनाएका छन् ।

कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले मदिरा सेवन गरेका ४० जना नेपालीको अस्पतालमा उपचार भइरहेको बताए । उनीहरुको मध्ये केहीको अवस्था गंभिर रहेको उनको भनाई छ ।

कुवेतस्थित नेपाली दुताबासले नेपालीहरु उपचारत रहेको अस्पताल पुगेर जानकारी लिएको र कुवेतको स्वास्थ्य मन्त्रालयसँग सम्पर्कमा रहेर उपचारत विरामीहरुको उचित उपचारको लागि समन्वय गरिरहेको जनाएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिथानोल मिसाएको मादक पदार्थ सेवनका कारण १६० जना आप्रवासी बिरामी भएका थिए। उनीहरूमध्ये २३ जनाभन्दा धेरै आप्रवासीहरूको मृत्यु भएको छ।

बिरामीमध्ये केहीले आँखाको ज्योति गुमाएका र केहीको किड्नी बिग्रिएपछि डाइलासिस भइरहेको र कतिपय सामान्य अवस्थामा रहेको बताइएको छ ।