एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

दियोपोस्ट संवाददाता

काठमाडौं । पाँच फरक खेल विधाका खेलाडी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन परेका छन् ।
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको लोकप्रिय विधा पिपल्स च्वाइसमा फुटबलकी रेखा पौडेल, उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, क्रिकेटकी पूजा महतो र भलिबलका हिमाल सुनारी परेका हुन् ।

२०६० सालदेखि हुँदै अवार्डको २२औं संस्करण आगामी भदौ २९ गते पोखरामा हुँदै छ । पहिलोपल्ट उपत्यका बाहिर हुन लागेको अवार्डको पिपल्स च्वाइस विधा सार्वजनिक गरिएको हो ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन पिपल्स च्वाइसमा परेका पाँच जना खेलाडीको मनोनयन सार्वजनिक ग¥यो । क्रिकेटकी पूजा, टेबल टेनिसकी इभाना र भलिबलका हिमाल भने उक्त कार्यक्रममा उपस्थित हुन सकेनन् ।

पूजा भारतमा क्रिकेट प्रशिक्षण गरिरहेकी छिन् भने इभाना र हिमाल प्रतियोगितामा व्यस्त छन् । नेपाल खेलकुद पत्रकार मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले नेपाली खेलकुदका चर्चित पाँच खेलाडीलाई यस विधामा छनोट गरेको हो ।

पछिल्ला समय नेपाली खेलकुदमा सफलतासँगै चर्चामा रहेका खेलाडीलाई यस विधामा समावेश गर्ने गरिन्छ । उसुका विजयले जापानमा सम्पन्न तेस्रो थाउलु विश्वकपमा कांस्य पदक जितेका थिए । इभाना भने दक्षिण एसियाली टेबलटेनिसमा चार पदक विजेता हुन् ।

पूजाले आफ्नो कप्तानीमा आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपाललाई च्याम्पियन बनाउँदै यु–१९ विश्वकपको यात्रा तय गराएकी थिइन् । फुटबलकी रेखा एएफसी महिला च्याम्पियन्स लिग खेल्ने नेपालकी पहिलो खेलाडी र साफ महिला च्याम्पियनसिप २०२४ को सर्वाधिक गोलकर्ता हुन् ।

नेपालको राष्ट्रिय खेल भलिबलका समर्थकमाझ हिमाल सबैभन्दा लोकप्रिय खेलाडीका रूपमा चिनिन्छन् । अवार्ड आयोजनाको एक महिनाअघि यो विधाको घोषणा गर्ने परम्परा छ । सो अवसरमा रेखाले पिपल्स च्वाइसको मनोनयनमा पर्दा एकदम खुसी लागेको र आफ्नो सपना पूरा भएको बताइन् ।

विजयले उसु खेल अन्य खेलजस्तै लोकप्रिय नभए पनि आफूले यस खेललाई चर्चित बनाइराख्न मिहिनेत गरिरहेको बताए । उनले यो अवार्ड आयोजना हुँदा धेरै वर्ष मञ्चमा पर्फमेन्स गरेको उल्लेख गर्दै यसपल्ट फरक भूमिकाबाट अवार्डमा जोडिन पाउँदा धेरै खुसी लागेको बताए ।

पिपल्स च्वाइसको विजेता चयन आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका प्रमुख प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आइएमइ खल्तीमा प्राप्त मतका आधारमा हुनेछ । ५० प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमइ खल्तीमा भोटिङ आइतबार नै सुरु भइसकेको छ ।

सामाजिक सञ्जाल फेसबुकको मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र पल्सर नेपालको आधिकारिक फेसबुक पेज गर्नुपर्नेछ), राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ । यो विधाका विजेताले पल्सर मोेटरबाइक जित्नेछ ।