
काठमाडौं । नेपालबाट इजरायल पुगेकी विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष आमिर ओहानासँग आज भेट गरेका छन् । भेटका क्रममा उनीहरुले विपिनको शीघ्र रिहाइका लागि मानवीय पहल गरिदिन आग्रह गरेका हुन् ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार भेटका क्रममा आमा पद्माले विपिनको तत्काल रिहाइका लागि पहल गरिदिन राष्ट्रपति हर्जोगसँग अनुरोध गरेकी थिइन् ।
राष्ट्रपति हर्जोगले विपिनको घटनाबारे आफू र सरकार निरन्तर सचेत रहेको बताएका थिए । नेपाली विद्यार्थी विपिन हाम्रा आफ्नै नागरिक जस्तै लागेको र उनको रिहाइका लागि इजरायली सरकारले दिनरात प्रयत्नरत गरिरहेको राष्ट्रपति हर्जोगले बताएका थिए ।
भेटका क्रममा संसद अध्यक्ष अमिरले पनि विपिनबारे रिहाइको प्रयास जारी राखेको बताएका थिए । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि विपन हमासको नियन्त्रणमा छन् ।