दुर्गा प्रसाईंद्वारा नयाँ राजनीतिक दल खोल्ने घोषणा

दियोपोस्ट संवाददाता  

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। केही दिन अघि मात्रै डिल्लीबजार कारागारबाट रिहा भएका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै पार्टी खोल्ने घोषणा गरेका हुन् ।

प्रसाईले पत्रकार सम्मेलनमार्फत संविधान अनुसार दल दर्ता गरेर अघि बढ्ने बताएका छन् । प्रसाईंले ‘फर्स्ट नेपाल, फर्स्ट नेपाली’ भन्ने एजेन्डा अघि सार्दै भिन्न राजनीतिक दल खोल्ने घोषणा गरेको उल्लेख गरे ।

पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ। मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन्। राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन बाध्य भएका छौं।’

यद्यपी, प्रसाईंले कुनै निश्चित नाम सार्वजनिक गरेका छैनन्। उनले केही दिनमै दलको नाम घोषणा गर्ने बताएका छन्।

राजा ल्याएरै छाड्ने भन्दै गत चैत्र १५ मा तीनकुनेमा आन्दोलन गरेका प्रसाइले पत्रकार सम्मेलनका क्रममा भने राजतन्त्रको विषय उल्लेख गरेनन् । प्रसाईले पार्टी खोल्नका लागि बिभिन्न एजेण्डा अघि सारेका छन् ।

उनको एजेण्डामा नेपाल नेपालीले नै बनाउने हो, नेपालमा व्यापार नेपालीले नै गर्ने, बौद्ध किरातसहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य स्थापना गर्ने, प्रदेश संरचना खारेजी, ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने उल्लेख छ ।

त्यस्तै, नेपालमै युवालाई सीपअनुसार कामको व्यवस्था गर्ने, खाडीका जेलमा रहेका युवालाई नेपालमा फर्काउने, गरिबले लिएको २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्ने, २० लाखमाथि मध्यमवर्गीय व्यापारीको ऋण २५ वर्ष समयावधि राखेर ५ प्रतिशत व्याजमा तिर्न पाउने व्यवस्था गर्ने सहकारी बचतकर्ताको रकम राज्यले तिर्ने व्यवस्था हुनु पर्ने प्रसाइको दलसम्बन्धि एजेण्डामा उल्लेख छ ।

६५ वर्ष पुगेका नागरिकलाई निस्शुल्क उपचार र मासिक १० हजार भत्ता दिने, २०४६ पछिका नेता र कर्मचारीको सम्पत्ति छानबिन गरी सरकारीकरण गर्ने, र निजामती कर्मचारी, प्रहरी, सेना र शिक्षकको तलब मासिक १ लाख बनाइने प्रसाइको एजेण्डा रहेको छ ।

सिफारिस