काठमाडौं । आज १९ औँ राष्ट्रिय सूचना दिवस । यस अवसरमा काठमाडौंको माइतिघर मण्डलामा ‘सूचनाको हक संरक्षणका लागि सडक सभा’ सम्पन्न गरिएको छ। नागरिक समाज, सञ्चारकर्मी, मानवअधिकारकर्मी, तथा विभिन्न संघ–संस्थाद्वारा सभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा सूचनाको हक र अधिकारसम्बन्धी सचेतना अभिवृद्धि गर्न राज्यका निकायहरूलाई थप उत्तरदायी बनाउनुपर्ने माग गरिएको छ । नेपालको संबिधान २०७२ को धारा २७ मा सुचनाको हक उल्लेख भएता पनि सर्बसाधारण जनतालाई आफ्नो मौलिक अधिकार प्रयोग गर्न नपाएको भन्दै त्यसका लागि जनतालाई प्रेरित गर्नु पर्ने बताइएको छ ।
सूचनाको हकलाई कानुनी कागजमा मात्र सीमित नराखी व्यवहारमा उतार्न सके लोकतन्त्र अझ सबल बन्ने, भ्रष्टाचार नियन्त्रण हुने र नागरिकको विश्वास बढ्ने अपेक्षा गरिएको छ। यही सन्देशसहित यस वर्षको १९ औँ राष्ट्रिय सूचना दिवस मनाइएको आयोजकले बताए ।
नागरिकलाई राज्यका गतिविधिबारे जानकारी प्राप्त हुने अधिकार सुनिश्चित नगरी पारदर्शिता, जवाफदेहिता र सुशासन सम्भव नहुने भन्दै सभामार्फत खबरदारी गरिएको छ ।
सभालाई संवोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले राज्य सञ्चालनमा पारदर्शिता ल्याउन, भ्रष्टाचार नियन्त्रण गर्न र नागरिकलाई नीतिगत निर्णयमा सहभागी गराउन नेपालमा सूचनाको हक सम्वन्धि ऐन लागू गरिएको बताए। ऐनले प्रत्येक नागरिकलाई सरकारी निकायसँग सूचना माग्न पाउने कानुनी अधिकार प्रत्युभुत गरेता पनि ब्यवहारमा अझै कार्यान्वयन हुन नसकेको उनले बताए ।
नागरिक समाजका अगुवा कृष्ण पहाडीले हालसम्म केही हदसम्म नागरिकहरूले सूचना माग्ने अभ्यास गरे पनि अझै पूर्णरूपमा सूचना पाउने वातावरण नबनेको धारण ब्यक्त गरे । कतिपय निकायहरूले सूचना गोप्य राख्ने प्रवृत्ति देखाएको र माग गरिएको सूचना समयमै नदिने, ढिलाइ गर्ने वा अपूरा रूपमा दिने चुनौती अझै कायम रहेको भन्दै पहाडीले यसका लागि राज्यलाई खबरदारी गर्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै अधिवक्ता दिनेश त्रिपाठीले सूचनाको हकलाई व्यवहारमा पूर्ण रूपमा लागू गर्न सरकारको इच्छाशक्ति, संयन्त्रको प्रभावकारी प्रयोग र नागरिकतर्फबाट निरन्तर निगरानी आवश्यक रहेको बताए ।
माइतिघर मण्डलामा आयोजित सडक सभामा सुचनाको हक संरक्षणमा सरोकार राख्ने बिभिन्न २६ संघ-संस्था, पत्रकार, तथा अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
नेपालमा २०६४ भदौ ३ गते ‘सूचनाको हक सम्बन्धी ऐन’ ल्याइएपछि प्रत्येक वर्ष यस दिन राष्ट्रिय सूचना दिवसका रूपमा मनाउन थालिएको हो। यस दिनलाई सूचना नै लोकतन्त्रको मेरुदण्ड हो भन्ने मान्यताका साथ मनाइन्छ।








