
काठमाडौँ । जिल्ला अदालत धादिङले निलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा सदस्य हिमप्रसाद पाठकका बिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । स्थानीय रामबहादुर विसुन्खेलाई जातीय विभेदपूर्ण गालीगलौज गरेको भन्दै वडा सदस्य पाठकका बिरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।
अदालतले पक्राउ गर्न अनुमति दिएसंगै आरोपी वडा सदस्य पाठकलाई पक्राउ गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक भेषराज रिजालले दियोपोष्टलाई बताए ।
पीडित राम बहादुर बिसुन्खेले आइतबार आफुमाथि जातीय बिभेदपूर्ण गाली गलौज भएको भन्दै आइतबार जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरीका आधारमा पाठकलाई पक्राउ गर्न लागिएको जानकारी दिए ।
आइतबार जाहेरी दर्ता भएपनि पीडितको जाहेरी रीतपूर्ण नभएको प्रमाण पेश नगरेका कारण पक्राउ पुर्जी जारी गर्न ढिला भएको प्रहरी उपरिक्षक रिजालले बताए ।
वडा सदस्य पाठकले आफुमाथि जातीय गालीगलौज सहित ज्यान मार्ने धम्की दिएका कारण न्यायका लागि आइतबार जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दिएको पीडित बिसुन्खेले बताए । रोपाइँका लागि पाइपबाट पानी लगाउने क्रममा पानी चलाएको भन्दै हातमा खुँडा लिएर जातीय गालीगलौज गरेको बताएका छन् ।
‘घटना साउन १९ गतेको हो । त्यो दिन मैले खेतमा पानी लगाउदैँ थिए । एक्कासी उहाँ आएर पानीको पाइप थुत्नु भयो । किन यस्तो गर्नुभएको भनेर सोध्दा उल्टै मलाई गाली गर्नु भयो ।’ उनले भने, ‘उहाँले तँ चमारे मसँग मुखमुखै लाग्छस, सानो जात भएर हामीले भनेको नटेर्ने? भन्दै जातलाई लिएर तथानाम गाली गर्दै खुँडा ताकेर काट्छु र मार्छु भन्नुभयो ।’
‘उहाँले ममाथि गलत आरोप लगाउउँदै कुटपिट गर्नु भयो । मेरो श्रीमतिलाई समेत दुर्व्यवहार गर्नु भयो,’ उनले भने । वडा सदस्य पाठकले आफुमाथि अन्याय गरेको भन्दै आफुले न्याय पाउनु पर्ने बिसुन्खेको माग छ ।
विभेद गर्ने वडा अध्यक्ष आफै खुडा लिएर पीडितलाई धम्काउदै।