महालक्ष्मी विकास बैंकको सन्तुलित ‘वित्तीय विवरण’ र ‘लाभाशं वितरण’ क्षमतामा वृद्धि

दियोपोस्ट संवाददाता

काठमाडौँ । महालक्ष्मी विकास बैंकको यस वर्षको लाभाशं वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ । कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रशितले वृद्धि गरेको हो ।

बैंकले बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को सन्तुलित अपरिष्कृत वित्तीय विवरण अन्र्तगत चौथो त्रैमासको अन्त्य सम्म समग्र वित्तीय परिसुचकहरुमा सकारात्मक सुधार गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५०.०३ करोड रुपैँया पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्य सम्म बैंकले ५६.२२ अर्ब रुपैँया निक्षेप संकलन गर्न सफल भएकोमा ४५.८५ अर्ब रुपैँया कर्जा परिचालन गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा शेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ । यस बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ ।

जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेको छ । साथै बैंकको पुँजी पर्याप्तता अनुपात पर्याप्त रहेको कारणले आगामी दिनहरुमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ आषाढ मसान्त सम्म कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो ।

कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ । जसअनुसार बैंकको आधार दर २०८२ श्रावण मसान्त सम्म ६.५४ प्रतिशत रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्ने बताइएको छ ।

हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप ‘महालक्ष्मी स्मार्ट साथी’मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ८ लाख भन्दा बढी ग्राहकहरु रहेको बताइएको छ ।