काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २९ अनामनगरस्थित बिगमार्ट रहेको भवनको विपरित दिशामा अघिल्तिर सिल्भर कलरको एउटा भव्य महल छ । भट्ट कम्प्लेक्स लेखिएको यही महलको तीन वटा तला भाडामा लिएर होस्टल चलाउन भन्दै जाजरकोटबाट काठमाडौं आएका रामबहादुर बुढाले भाडा सम्झौता गरे ।

गत जेठ १ गतेदेखि लागु हुने गरि घरबेटी दार्चुला शैलेशिखर नगरपालिका २ घर भई हाल अनामनगर बस्दै आएकी हिरादेवी भट्टसँग ५ वर्षका लागि भाडा सम्झौता गरे । सोही घरको तेस्रो तलामा उनले ‘आदित्य ब्वाइज होस्टेल’ नामक बोर्ड समेत झुण्ड्याए । तेस्रो, पाँचौँ र छैटौँ तला भाडामा लिएर होस्टल सञ्चालन गर्न दिने लिखित सम्झौतमा उल्लेख छ । तर, सम्झौता विपरित घरबेटी हिरादेवीका पुत्र पदम राज भट्टले आफूमाथि ठगी गरि अहिले घरबाट निकाल्ने सुचना समेत प्रकाशन गराएको पीडित बुढाको दाबी छ ।
सम्झौताअनुसार महिनामा १ लाख ६० हजार रुपैयाँ भाडा तिर्ने र अग्रिम ३ लाख २० हजार रुपैयाँ बुझाउने उल्लेख भए अनुसार राम बहादुरले हालसम्म करिब ५ लाख ४० हजार रुपैयाँ तिरेको स्टेटमेन्टमा देखिन्छ । तर, घरबेटीका पुत्र पदमले सम्झौता भएको तीन महिनापछि जेठ २५ (पुरानो) मिति राखेर घर खाली गर्न भन्दै धम्कीपूर्ण सुचना होस्टल अगाडी टाँसिदिएको पीडितको दाबी छ ।

‘मैले ७ लाख रुपैयाँ लगानी गरिसकेँ । तर, मलाई अहिले माथिल्लो तलामा रहेको ‘स्पा’ संचालक विवेक महर्जनले समेत हातपात र गालीगलौज गर्ने गरेको छ,’ उनले भने,‘बसेर सल्लाह गरौँ भन्दा घरबेटी मलाई कुट्न र हातपात गर्न आइलाग्छन् ।’ गत असार १३ गते महर्जनले राती १२ बजेसम्म स्पा संचालन गरेपछि हल्ला नगर्न अनुरोध गर्दा मगरमाथि कुटपीट भएको उनले बताए ।
‘२ महिनाको सुत्केरी श्रीमती र विद्यार्थीहरु भएको बेला मदिरा खाएर युवतीहरुसँग होहल्ला गरेपछि होहल्ला नगर्नुस् भन्दा मलाई घाँटी थिचेर मार्न खोजियो । मेरी सुत्केरी श्रीमतीमाथि समेत कुटपीट भयो । राती प्रहरीलाई बोलाएपछि प्रहरी आए विवेकलाई लिएर गयो । तर, प्रहरीका कार्की थरका एआइजीलाई फोन गरेको छु भन्दै शक्ति देखाएर छुट्यो,’ पीडित मगरले भने ।
होस्टलमा सम्झौता गरेर बस्न आएका विद्यार्थीहरुलाई घरबेटी भट्टले आउने र धम्काउने गरेको पीडित मगर बताउँछन् । यता भट्ट कम्प्लेक्सका मालिक दाबी गर्ने पदमराज भट्टले भने आफूले हालसम्म पनि घर भाडा नपाएको बताए । उनी भन्छन्,‘भाडा पाएकै छैन, भाडा नपाएपछि खाली गराउन खोजेका हौँ ।’
स्टेटमेन्ट अनुसार त तपाईंले ५ लाख ४० हजार लिनु भएको छ नी भन्ने प्रश्नमा उनले उक्त रकम भाडा नभई फर्निचर लगायतको सामग्री बापत दिएको बताए । तर, बैंक स्टेटमेन्टमा त भाडा नै उल्लेख छ नी भन्ने दियोपास्टको प्रश्नमा उनले फर्निचरको रकम ईसेवाबाट आफूले पाएको र रिमार्कसमा के लेखिएको छ आफूलाई थाहा नभएको बताए ।

सेकेन्ड ह्याण्ड बेड लगायतको भाडा समेत गरि तीस-चालिस हजार लिनुपर्ने दाबी गरेका उनले अन्तिममा भने १० लाख रुपैयाँ फर्निचरबाट लिनुपर्ने रहेको बताए । भाडा बापत बुझाएको सबै रकम कार्पेट, भाडाँकुडाँ र बेडहरुको रकम रहेको भट्टको दाबी छ । उक्त भाडाँ कुँडा, बेडहरुको बील छ तपाईंसँग भन्ने दियोपोस्टको प्रश्नमा उनले त्यसको कुनैपनि बिल नरहेको बताए ।

उनले घर भाडामा बस्नेबाट आफूले अग्रिम तीन महिनाको भाडा धरौटी बापत लिने गरेको समेत बताए । उनले भाडा नतिरेपछि सुचना टाँसेको बताए ।

घरबेटीबाट पीडित बुढाको भिडियो बयान हेर्नुहोस् ।