
काठमाडौँ । सरकारले शिक्षा विधेयक पारित गर्ने तयारी गरिरहँदा शिक्षकहरु सडकमा उत्रिएका छन् । विधेयकका केही बुँदाप्रति असहमति जनाउँदै प्याब्सन र एन प्याब्सनमा आवद्ध शिक्षकहरु सडकमा उत्रिएका हुन् ।
शिक्षकहरु माइतीघर मण्डलामा भेला भई जुलुससहितको र्याली नयाँबानेश्वर चोक हुँदै पूनः माइतीघर मण्डलामा फर्किएर कोणसभा गर्ने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ ।
विद्यालय शिक्षा विधेयकमा प्रस्तावित केही बुँदाहरु निजी विद्यालयमैत्री नभएको भन्दै आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाई छ । शिक्षा विधेयकमा उल्लेखित गैर नाफामूलक बनाउँदै लगिने भन्ने शब्द हटाउनु पर्ने, पूर्ण छात्रवृत्ति शब्द हटाउनुपर्ने नीजि बिद्यालयको माग छ ।
त्यस्तै निजी विद्यालयले पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना-खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनु पर्ने लगायतका माग अघि सार्दै आएका छन् ।