रास्वपाका नेता हरिप्रसाद कँडेल नक्कली ‘शैक्षिक प्रमाणपत्र’ बनाउन संलग्न भएको आरोपमा पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । चितवन कालिका–५, पदमपुर स्थायी घर भएका कँडेललाई बुधबार रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

रूपन्देही प्रहरीले गत साउन ३० गते रूपन्देहीको बेलहिया बसपार्कमा रहेको होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार बरामद प्रमाणपत्रहरू नक्कलीरूपमा तयार पारिएको पुष्टि भएको छ र यस प्रकरणमा थप संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाही अघि बढाउने तयारी भइरहेको छ।

कँडेल चितवनको लायन्स चोकमा ‘कलेज कोच नेपाल प्रालि’ नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए । उनी उक्त परामर्श केन्द्रका अध्यक्ष हुन्।

उनले नेपाल र भारतका समेत विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र बनाएर यसअघि अध्ययन तथा कामदारको रुपमा विभिन्न देशमा विद्यार्थी पठाउँदै आएको र विद्यार्थीहरुलाई माल्टा पठाउने तयारी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् ।