
काठमाडौँ । काठमाडौँ विश्व विद्यालयका प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलले अत्यधिक डिजिटल डिभाइसको प्रयोगले बाल-बालिकाको सिर्जनशिलता खुम्चिदै गएको बताएका छन् । शनिबार पानीपोखरीस्थित ‘भानुभक्त मेमोरियल उच्च माध्यमिक विद्यालय’मा आयोजित अभिभावक दिवसका अवसरमा प्रा.डा. लुइटेलले डिजिटल डिभाइसको कम प्रयोग गर्न बाल-बालिकाका र उनीहरुका अभिभावकलाई आग्रह गरे ।
‘पछिल्लो समय ए.आई.को प्रयोग बढ्दो छ । हाम्रा बालबालिकाहरुले ए.आई.लाई सिकाईको एउटा माध्यम बनाउँदै आएका छन् । तर ए.आइए.मै भर पर्नु राम्रो होइन,’ उनले भने, ‘एआईको प्रयोगले बाल-बालिकाहरुको सिर्जनशिलता खुम्चिदै गएको छ । यसप्रति अभिभावकहरु सचेत हुनु जरुरी छ ।’
प्रा.डा. लुइटेलले अत्यधिक डिजिटल डिभाइसको प्रयोगले बाल-बालिकाहरुको मानशिक स्वास्थ्यमा समेत असर देखा परेको प्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘मोवाइल तथा कम्युटरको स्किृनले बालबालिको आँखा र मस्तिष्कमा गहिरो असर पुर्याइरहेको छ । मोवाइल र कम्प्युटरको सट्टा पुस्तक पढ्ने बानीको बिकास गराएको खण्डमा बाल-बालिकाहरुलाई यो असरबाट बचाउन सकिन्छ ।’
उनले आउदोँ पुस्तासंग धेरै संभावना भएको र जीवनमा आइपर्ने समस्यालाई समाधान गर्न वर्तमानमा सिकाई हुनु पर्ने भन्दै शिक्षक तथा अभिभावकले बाल-बालिकालाई उत्कृष्ट संस्कार सिकाउनु पर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर मिलन गर्तौलाले भानुभक्त मेमोरियल विद्यालयले शिक्षाका क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको भन्दै विद्यालयले चौतर्फी प्रगति गर्दै गएको बताए ।
उनले समाज यान्त्रिकिकरण तर्फ अगाडी बढेको भन्दै आफ्ना बाल-बालिकामा पढ्ने बानीको बिकास गराउन यान्त्रिकीकरणबाट टाढा राख्नु पर्ने धारणा ब्यक्त गरे । बाल-बालिकाहरु भविष्यका कर्णधार भएकाले उनीहरुको चौतर्फी बिकासका लागि विद्यालय र अभिभावकको भुमिका महत्वपूर्ण हुनु पर्ने उनको भनाई छ ।
उनले भने, ‘बाल-बालिकाहरु बसन्तका फुल जस्तै हुन् । उनीहरु शरदका दिनजस्तै हुन् । उनीहरुको भविष्य हाम्रै हातमा छ । आत्मिय र प्रेमपूर्ण वातावरणमा उनीहरुको सिर्जनशिलतालाई फक्रिन दिनु पर्छ ।’
सो अवसरमा डा. गर्तौलाले भानुभक्त मेमोरियल विद्यालयको इतिहासको चर्चा गर्दै भविष्यमा समेत विद्यालयले उत्कृष्टता हासिल गर्नेमा विस्वास व्यक्त गरे ।
कार्यक्रममा भानुभक्त मेमोरियल उच्च माध्यमिक विद्यालयकी प्रध्यानाध्यापक इश्वरी ढुङ्गानाले विद्यालयको शैक्षिक तथा चौतर्फी बिकसमा सहयोग पुर्याउने सबै क्षेत्र, तह र तप्काप्रति आभार ब्यक्त गरिन् । उनले बाल-बालिकाको सफलता नै विद्यालयको सफलता भएको भन्दै त्यसका लागि अभिभावकको समेत भुमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरिन् ।
अभिभावक दिवसका अवसरमा विद्यालयका निम्न माध्यमिक तह इन्चार्ज हरिराम रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुले नृत्य, गीत, नाटक, कविता, चुट्किला तथा बिभिन्न कला प्रस्तुत गरेका थिए ।
भानुभक्त मेमोरियल उच्च माध्यमिक विद्यालय काठमाडौं उपत्यकाको एक अग्रणी विद्यालय हो । काठमाडौँको पानीपोखरीमा अवस्थित यो विद्यालय बि.सं.२०२४ सालमा नेपाली साहित्यका अग्रणी व्यक्तित्व स्वर्गीय कवि भानुभक्त आचार्यको स्मृतिमा स्थापना भएको हो।












