‘नाडा अटो शो-२०२५’ सम्पन्न, डेढ लाख बढीले गरे अवलोकन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । छ दिनदेखि काठमाण्डौको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो-२०२५ भव्यताका साथ सम्पन्न भएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा शनिबार प्रदर्शनी सम्पन्न भएको हो ।

१७औं संस्करणको रुपमा रहेको नाडा अटो शो २०२५ मा १ लाख ७६ हजार ७ सय ८९ जना दर्शकहरुले अवलोकन गरेका छन् ।

यसपालीको प्रदर्शनीमा उड्ने सवारी कार सबैको आकर्षणको केन्द्रमा रह्यो । त्यससंगै रोवोटिक म्यान र डगका सथै थुप्रै नयाँ ब्रान्डका विद्युतीय सवारी साधनको कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो बिगतको भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् ।

सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले अटोमोवाइल व्यवसायलाई मात्र होइन देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन समेत मद्धत पुग्ने हामीले अपेक्षा गरिएको छ ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न
नाडा अटो शो २०२५ को अवसरमा नाडाले हरेक दिन विभिन्न विषयहरुमा अन्तरक्रिया कार्यक्रमहरु समेत सम्पन्न गरेको थियो । नाडा अटो शो को पहिलो दिन अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ता, सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स (सियाम)का उपकार्यकारी निर्देशक अटानु गाँगुलीको प्रमुख आतिथ्यतामा इण्टरनेशनल अटो ट्रेड डायलग विषयमा भएको थियो ।

नाडा अटो शो को दोश्रो दिन इमानसंगको सहकार्यमा उद्योग वाणिज्य मन्त्रालयका सचिव कृष्णवहादुर रावतको प्रमुख आतिथ्यतामा ड्राइभिङ्ग द फ्युचर, इभि एडप्सन इन नेपाल विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

नाडा अटो शो को तेश्रो दिन नेपाल आर्थिक पत्रकार संघसंगको सहकार्यमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्र्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कर्जा नीतिमा स्थिरता, अटोमोवाइल बजारको दिर्घकालिन निकासको आधार भन्ने विषयमा अन्तरक्रिया सम्पन्न भएको थियो ।

नाडा अटो शो को चौथौं दिन ड्रोन हव नेपालका फाउण्डर प्रविन भट्टराईकोे प्रमुख आतिथ्यतामा फलाइङ्ग कार टेक्नोलोजी विषयमा र सोही दिन नेपाल राष्ट्र बैकका पूर्व गर्भनर दिपेन्द्र क्षेत्रीको प्रमुख आतिथ्य र नेपाल अटो पत्रकार संघको सहकार्यमा युथ मोविलिटी एण्ड नेशनल ड्रिम भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

यसै क्रममा नाडा अटो शो को पाँचौ दिनमा पनि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी आज नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा मेड इन नेपाल विषयमा पनि एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

महासंघमा रूपान्तरणको ऐतिहासिक प्रस्ताव
समापनकै दिन बसेको नाडा केन्द्रीय कार्य समितिको २१औं बैठकले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाललाई नाडा अटोमोवाइल्स महासंघ नेपाल (Federation of NADA Automobiles Nepal) मा रूपान्तरण गर्ने प्रस्तावसहित विशेष साधारण सभा भाद्र २४ गते आह्वान गर्ने घोषणा गरेको छ । यो कदम नाडाको स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीका रूपमा लिइएको छ।

उत्कृष्ट स्टलहरुको छनौट
यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेको देखिन्छ र त्यसैगरी यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारी साधनको स्टल दिपाल, एमएडब्लु अटो कर्प प्रा.लिले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल रोयल इनफिल्ड अल्फा अटोमोटिभ प्रा.लि.ले जितेको छ ।

त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड  DFSK श्री अद्धेत इभि प्रा.लि.ले जितेको छ र बेष्ट सर्पोटिङ्ग स्टलको बेष्ट एवार्ड हिट्को प्रा.लि.ले जितेको छ । त्यसैगरी बैंक तथा इन्स्यारेन्सहरुमा श्री ग्लोवल आई.एम.ई. बैंक लिमिटेडले जितेको छ ।

नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल र नविन पारख, नेपाल अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेल, इमानका तर्फबाट अध्यक्ष रोयल आचार्य तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विसेज् प्रा.लि.कातर्फबाट प्रवन्ध निर्देशक सन्तोष क्षेत्री समेत सदस्य रहनेगरी पाँच सदस्यिय बेष्ट स्टल छनोट समिति समेत गठन गरेको थियो ।

उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको थियो भने सो प्रदर्शनीको फायर सेफटीको सम्पूर्ण कार्य नाडाकै सदस्य कम्पनी हिटको प्रा.लिले गरेको थियो । प्रदर्शनीको प्रचार प्रसारको कार्य एभरेष्ट एडले गरेको थियो ।

समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई सफल बनाउन सहयोग पु¥याउने सवै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद दिनु भयो । नाडा अटो शो २०२५ सम्पन्न गर्न अध्यक्ष चौधरी कै संयोजकत्वमा नाडा अटो शो २०२५ तयारी समिति समेत गठन गरेको थियो । उक्त प्रदर्शनीको क्रममा नाडाले सोही परिसरमा लायन्स क्लव अफ काठमाण्डौसंगको सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

६ दिनसम्म चलेको सो प्रदर्शनीमा देशका विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, स्वास्थ तथा जनसंख्या मन्त्री प्रदीप पौडेल तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थिती रहेको थियो ।

त्यस्तै, प्रतिनिधी सभा सदस्य माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्गदेन, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल, राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ, प्रतिनिधि सभा सदस्य तथा एमाले नेता योगेश भट्टराई, प्रतिनिधि सभा सदस्य हरि ढकाल, प्रतिनिधि सभा सदस्य शिशिर खनाल, प्रतिनिधि सभा सदस्य गणेश पराजुली, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले समेत प्रदर्शनीको अवलोकन गरेका थिए ।

त्यसैगरी अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी, काठमाण्डौ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोल, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णवहादुर रावत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकवहादुर तामाङ्ग, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रवहादुर क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव महेशकुमार भट्टराई, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्सालले प्रदर्शिनीको अवलोकन गरेका थिए ।

त्यस्तै, काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल, यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेवलभमेण्ट वोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, कृषि विकास बैकंका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले प्रदर्शनीको अवलोकन गरेका थिए ।

सो क्रममा संघ संस्थाहरुको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, सार्वजनिक यातायातको केन्द्रीय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनाल, नेपाल बंैकर्स एशोसिएशनका उपाध्यक्ष सुरेन्द्र रेग्मी, सिजी होल्डीङ्गस्का अध्यक्ष अरुणकुमार चौधरी, युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम, नेप्लिज योङ्ग इण्टरप्रेनर्स फोरमका अध्यक्ष सुदिप घिमिरे महिला राष्ट्रिय फुटवल कप्तान सवित्रा भण्डारीज्यू र कलाकार सन्दिप क्षेत्रीले समेत नाडा अटो शो २०२५ को अवलोकन गरेका थिए ।

यसै क्रममा अन्तर्राष्ट्रिय क्षेत्रबाट अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ता, सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक अटानु गाँगुलीको प्रतिनिधी मण्डलले नाडा अटो शो अवलोकन गरेका थिए ।