
काठमाडौँ । ‘विद्यालय शिक्षा विधेयक-२०८०’ मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै शिक्षक महासंघ आजदेखि पुनःआन्दोलनमा उत्रिएको छ । भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा आफ्ना माग संवोधन नभएको भन्दै महासंघ पुनः आन्दोलनमा उत्रिएको हो ।
गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो । तर सरकार आफैले गरेको सहमतिबाट पछि हटेको महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।
अध्यक्ष सुवेदीका अनुसार आन्दोलनको पहिलो चरणमा सोमबार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको बताइएको छ ।
त्यस्तै, भदौ ११ देखि २० सम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा २ घण्टे धर्ना दिने कार्यक्रम रहेको अध्यक्ष सुबेदीले बताए । भदौ २१ देखि दोस्रो चरणको कडा आन्दोलन हुने उनले जानकारी दिए । जस अन्तर्गत धर्ना, अवरोध र विरोध प्रदर्शन जस्ता कार्यक्रम रहेको महासङ्घले जनाएको छ।