
काठमाडौं- नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्सको छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्स का उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट करेन्ट पोइन्ट को तेस्रो शाखा काठमाडौंको शंखमूलस्थित बिग मार्ट नजिक सञ्चालनमा ल्याएको छ।
बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटहरूले पाएको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै, नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको दर खाने दिनको अवसरमा नयाँ शाखा सुरु गरिएको कम्पनीले जनाएको छ।
यस नयाँ आउटलेटमा करेन्ट नुडल्सका विभिन्न परिकार उपलब्ध हुनेछन्। ग्राहकहरूले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स र चिज पकेट जस्ता बिल्कुलै नयाँ र आकर्षक परिकारहरूको स्वाद लिन सक्नेछन्। साथै, रुचिअनुसार मसला र स्वाद रोज्ने सुविधा पनि उपलब्ध हुनेछ।
उद्घाटन कार्यक्रममा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवल र अनामनगर शाखामा उपभोक्ताले देखाएको माया र सफलताले आफूहरूलाई काठमाडौंमा थप विस्तार गर्न प्रेरित गरेको बताए। उनले भने, “काठमाडौंका नुडल्स पारखीहरूका लागि शंखमूललाई एउटा उत्कृष्ट गन्तव्य बनाउन चाहन्छौं। नयाँ शाखाले उपभोक्ताको स्वादको चाहनालाई अझै नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छौं।” त्यस अवसरमा कम्पनीका ग्लोबल सि.इ.ओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स–नुडल्सको उत्पादनबारे मिडियालाई विस्तृत जानकारी दिएका थिए।
सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रालि. छोटो समयमै नेपालका अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक बनेको छ। करेन्ट ब्रान्ड अन्तर्गतका पिरो र स्वादिष्ट चाउचाउहरू विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छन्। कम्पनीले चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्सलगायत विभिन्न स्न्याक्स उत्पादन गर्दै आएको छ भने आफ्ना उत्पादनहरू नेपालभरि मात्र नभई २२ भन्दा बढी मुलुकमा निर्यात गर्दै आएको छ।