‘हाइड्रो शेयर’ घोटाला काण्डकी आरोपी पिंकी गुरुङ र पीडितबीच प्रहरी परिसरमा चर्काचर्की

दियोपोस्ट संवाददाता

काठमाडौं । हाइड्रोको शेयर बिक्री घोटाला प्रकरणमा मुछिएकी ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष सञ्जीव गुरुङ शीतल (पिंकी) र पीडितबीच काठमाडौं जिल्ला प्रहरी परिसरमा चर्काचर्की भएको छ । पिंकीले घोटलाबारे चित्तबुझ्दो नदिएको भन्दै परिसरमा चर्काचर्की भएको हो ।

२०७४ सालमा ‘विवेकशील आदर्श इन्भेस्टमेन्ट’ कम्पनीको रसिद देखाएर रकम सङ्कलन गरेकी पिंकीलाई छलफलका लागि भन्दै प्रहरीले सोमबार दिउँसो बोलाएको थियो । उक्त छलफल निष्कर्ष विहीन बनेको पीडितले बताए ।

उनीसँगै सोसाइटीमा कार्यरत सञ्जय शर्मा, पिटर राई, सुदिप गौतम, वकिल र इनर्जी इन्जिनियरिङ कम्पनीका म्यानेजर जितमान शेर्पा पनि थिए।

छलफल सुरु हुनासाथ पिंकीले पीडितलाई आफूसँगै बोलाएर उजुरी गरी आफ्नो बदनाम गरिएको बताएकी थिइन् । तर, पीडितहरूले ८ वर्षअघि बुझाएको रकम फिर्ता गरिदिन माग गरेपछि पिंकीको तर्फबाट कानुन व्यवसायीले उल्टै पीडितलाई दबाउने शैलीमा पैसा बुझाएको प्रमाण खोजेका थिए ।

पीडित र आरोपीबीच प्र्रहरी पपरिसरमै चर्काचर्की भएको थियो । पीडितले आक्रोशित हुँदै आफुहरु सिधा–साधा समुदायका सदस्य भएको बतउँदै आफुले पिंकीलाई नै पैसा बुझाएको र त्यो रकम पिंकीले नै फिर्ता गर्नु पर्ने माग राखेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा कानुन व्यवसायी र पीडितबीच लामो समयसम्म नोकझोक चलेको एक प्रहरीले जानकारी दिए । उजुरीकर्ता दुई जना भए पनि यस घोटालामा ५० जना भन्दा बढी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको रकम हिनामिना भएको बताइएको छ ।

त्यसमध्ये एक पीडितले १ लाख रुपैयाँ बुझाएर ‘विवेकशील आदर्श कम्पनी’को रसिद लिएको बताए । उक्त छलफलका क्रममा पिंकीले रकम सङ्कलन गरेको स्वीकार गरेकी थिइन् ।

तर उनी इनर्जी इन्जिनियरिङका म्यानेजरलाई देखाउँदै “शेयर प्रमाणपत्र दिलाउने भनेर जिम्मेवारीबाट पन्छिन खोजेकी थिइन् । पीडितले रकम सङ्कलन एक कम्पनीबाट, प्रमाणपत्र अर्कै कम्पनीको दिइएको भन्दै यसमा छलछाम भएको बताएका थिए ।

उनीहरूले आफुलाई नक्कली प्रमाणपत्र देखाएको र किर्ते हस्ताक्षर गराइएको आरोप लगाए। पिंकीले समुदायका सदस्यलाई प्रहरीले पक्रिँदा म छुटाइदिने गरेको भन्दै भावनात्मक सहानुभूति लिन खोजेको प्रहरीको भनाई छ ।

हिरासतमा परेका सदस्यलाई छुटाउने नाममा कमिसन खाने गरेको हो? भन्दै पीडितले प्रतिप्रश्न गरेका थिए ।

यता कानुन व्यवसायीले विवेकशील आदर्श इन्भेस्टमेन्ट दर्ता भएदेखि हालसम्म अद्यावधिक नभएको कम्पनी दर्ता प्रमाणपत्र देखाएर पीडितलाई आश्वासन दिन खोजेको आरोप छ । विवेकशील हालसम्म अद्यावधिक नभएको पुष्टि भैसकेको छ।

छलफलका क्रममा पीडितले कुन बैङ्कमा पैसा जम्मा गरिएको छ भन्दै प्रश्न गर्दा पिंकीले ‘भिभोर विकास बैङ्क’मा राखेको बताएकी थिइन् । तर भिभोर बैङ्कमा सञ्जीव गुरुङ (पिंकी) को नाममा जम्मा भएको रकम जम्मा २ हजार रुपैयाँ मात्र फेला परेको बताइएको छ ।

पिंकीले उक्त रकम विवेकशील आदर्शबाट इनर्जी इन्जिनियरिङमा रकम ट्रान्सफर गरेको बताएकी थिइन् । तर त्यसको प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै पीडित आक्रोशित बनेका थिए ।

एक पीडितले भने, ‘यदि इनर्जी इन्जिनियरिङकै शेयर हो भने किन विवेकशील आदर्शको रसिद दिएर पैसा उठाइयो? हामी सजिलै कमाउने होइनौँ, पसिना बगाएर कमाएको पैसा हो। समुदायकै नेतृत्व गर्ने भनी विश्वास गरेर बुझाएको रकम अनियमित भएको देखियो हामी चुप लागेर बस्दैनौँ ।’

समुदायकै नाममा लाखौँ रकम सङ्कलन गर्ने तर त्यसलाई नक्कली प्रमाणपत्र, अद्यावधिक नभएका कम्पनी र कानुनका पर्खालभित्र छोप्ने प्रयास भएको आरोपसहित पीडितहरूले थप प्रमाण जुटाएर फेरि प्रहरीमा जाने बताएका छन्।

हाइड्रो सेयर बिक्री घोटाला प्रकरणमा संलग्न रहेको भन्दै उजुरी गरेका पीडितहरूले ‘ब्लु डायमन्ड सोसाइटी’की तत्कालीन अध्यक्ष सञ्जीव गुरुङ शीतल (पिंकी)लाई आधिकारिक पत्र पठाउँदै आवश्यक कागजात उपलब्ध गराउन माग गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँमा भएको पछिल्लो छलफल निष्कर्षविहीन बनेपछि पीडितहरूले पिँकीलाई सम्बोधन गर्दै “आवश्यक परिचय र दस्ताबेज उपलब्ध गराउने सम्बन्धमा” शीर्षकसहित पत्र लेखेका छन्।

छलफलका क्रममा पिंकीले आफू पनि पीडित भएको बताएकी थिइन् ।