
काठमाडौं- रौतहटकी २६ वर्षीया रुबी साहको हत्या अभियुक्त लक्ष्मण पासवानले हत्या स्वीकार गर्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका छन्।
पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि बनाएको भिडियोमा रुबीको हत्या आफूले नै गरेको स्वीकार गरेका छन्। “रुबीलाई मारेदेखि मेरो हात काँपिरहेको छ। उनी मरेपछि म बाँचेर के गर्नु? पक्राउ परे १०–१५ वर्ष जेल बस्नुपर्छ,” भिडियोमा उनले भनेका छन्।
रुबीसँग कक्षा १० पढ्दादेखि नै प्रेम सम्बन्ध रहेको र दुवैजनाले सर्लाही जिल्ला अदालत र भारतको सीतामढीस्थित अदालतमा प्रेम विवाह गरेको तर दुवै परिवारले सम्बन्ध अस्वीकार गरेको बताएका छन्। उनले रुबीकी आमाले पैसाको प्रलोभनमा परेर छोरीलाई अन्य केटाहरूसँग सम्बन्ध राख्न लगाएको दाबीसमेत गरेका छन्।
उनका अनुसार हत्या अघि रुबी ब्युटी पार्लर जानको लागि उनको कोठामा आएकी थिइन् र “एकअर्का बिना बाँच्न नसक्ने”कुराकानी भएको खुलाएका छन्। “मैले भनेँ मलाई मार, उनले भनिन् मलाई मारिदेऊ,” उनले भिडियोमा भनेका छन्।
गत शनिवार राति गौरमा सुटकेसभित्र रुबीको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको सुई पासवानतर्फ गएपछि उनी फरार थिए। आत्मदाह अघि उनले भिडियोमार्फत आफू र रुबीबिच लामो समय कुराकानी भएको र दुवैजनाले मर्ने निर्णय गरेको पनि बताएका छन्।

आरोपी लक्ष्मण पासवानलाई रौतहट प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको हाे। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार पासवान आफैँले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका हुन् । माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैँचा–बिसुनपुरवा मानपुर जाने बाटोमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा भर्ना गरेको थियाे । गरुडा स्थित बेटर नेपाल हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ ल्याइएकाे छ। हाल घाइते अवस्थामा रहेका पासवानको प्रहरी निगरानीमा उपचार भइरहेको छ।
भिडियो हेर्नुहोस् :