राज्य व्यवस्था तथा सुशासन समितिका सभापति न्यौपानेले लिइन् पद तथा गोपनीयताको शपथ

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका नवनियुक्त सभापति ईश्वरीदेवी न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । नेपाली कांग्रेसकी सांसद समेत रहेकी न्यौपानेले बुधबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेमार्फत शपथ लिएकी हुन् ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा आयोजित एक कार्यक्रमका बीच न्यौपानेले शपथ लिएकी थिइन् ।

कुलिङ अफ पिरियड सम्बन्धी विवादमा यसअघिका सभापति रामहरि खतिवडा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए । समिति सभापतिमा उनको मात्रै उम्मेदवारी परेपछि न्यौपाने निर्विरोध निर्वाचित भएकी थिइन् ।

कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिने न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् ।