धनगढी । डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ठाडा बजारबाट डडेल्धुरा सदरमुकाम तर्फ जाँदै गरेको से १ ज ७३८ नम्बरको जिप नवदुर्गा गाउँपालिका–५ स्थित चौडको कच्ची सडकमा दुर्घटना हुँदा बिहीबार चार जनाको घटनास्थलमै मृत्यु भएको हो ,
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको छ । घटनास्थलमा चार जनाको शव फेला परेको र मृतकको सनाखत हुन नसकेको उनले बताए ।
दुर्घटनामा घाइते हुनेहरुको उद्धार भइरहेको र उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउन पहल गरिएको प्रहरीको भनाई छ ।
दुर्घटनामा कम्तीमा ७ जना घाइते अवस्थामा रहेको भनिए पनि अझै यकिन हुन नसकेको प्रहरीले जानकारी दिए । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।