
काठमाडौँ । कोही कसैको ज्यान लिँदैन ! मान्छे ज्यान लिनका लागि बाध्य हुन्छ ! त्यसका पछाडी कसैको हात हुन्छ, त्यो जान्नु जरुरी छ ! उसलाई मार्ने थिएन ! म धेरै रोएको थिए ! समस्या के थियो भने, उसकी आमा एकदमै खराब थिई ! भिडियोमार्फत रुबी साहका प्रेमी भनिएका लक्ष्मण पासवानले रुबीको हत्या गर्नुको कारण उनकै आमा भएको बताएका थिए ।
करिब ९ मिनेट ३६ सेकेण्ड लामो भिडियोमा पासवानले रुबीको हत्या गर्नुको कारण उनकी आमा भएको बताए पनि घटनाको जड जातीय बिभेद भएको बताइएको छ । लक्ष्मणका साथी समेत रहेका स्थानीय पत्रकार सुबा पासवानले घटनाको मुख्य कारण अन्तर्जातीय प्रेम सम्वन्ध भएको बताए । उनीहरुको प्रेम रुबीका परिवारले स्वीकार गर्न नसक्दा यस्तो घटना हुन पुगेको सुबाको भनाई छ ।
राष्ट्रिय दलित पत्रकार संघ रौतटका सदस्य समेत रहेका पत्रकार राजेश निरमनीका अनुसार कक्षा १० मा पढ्ने बेला रुबी र लक्ष्मणबीचको प्रेम सम्बन्धका बारेमा गाउँ भरि हल्ला भएको थियो । गाउँलेले थाहा पाएपछि लक्ष्मणले रुबीलाई भगाएर भारत लिएर गएको उनले बताए ।
आज भन्दा १४ वर्ष अघिको घटना सम्झिदै राजेश भन्छन्, ‘लक्ष्मणले रुबीलाई भगाएर इण्डिया लिएर गएको सात महिना पछि उनीहरु नेपाल फर्केका थिए । त्यतिबेला सानो जातकै केटा भएका कारण रुबीलाई लक्ष्मणबाट छुटाइएको थियो,’ उनले भने, रुबीको परिवारले लक्ष्मण र उनका परिवारकाबिरुद्ध अपहरण, शरीर बन्धक र मानव बेचबिखन सम्वन्धि मुद्धा दायर गरेका थिए । उक्त मुद्धामा लक्ष्मणलाई १७ दिन हिरासत र १५ हजार जरिवाना तिराइएको थियो ।’
कानुन अनुसार रुबीको उमेर नपुगेको भनिए पनि कारण जातीय नै भएको र यही काण्डमा लक्ष्मणले डेढ वर्षसम्म वर्ष मुद्दा खेप्नु परेको उनले बताए । रुवीकी आमाले जातपातको विषयलाई लिएर ‘तँ मेरो ज्वाई बन्नै सक्दैन मेरो छोरीलाई छोड्, नत्रलाई मार्छु काट्छु’ भन्दै थुप्रै पटक धाक धम्की दिने गरेको बताइएको छ ।
लक्ष्मणसंग छुटाएपछि रुबीको २९ माघ २०६८ मा भारतस्थित मुजफ्फर नगर राक्साका शिवसागर साहसँग मागी बिबाह भएको थियो । रुबीका ४ वर्षिय छोरा छन् । रुबीको बिहे पछि लक्ष्मणले पनि अर्कै केटीसंग बिहे गरेको पारिवारिक स्रोत बताउँछ ।
लक्ष्मण बिगत ५ वर्ष यता वैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा थिए । मलेशियामा रहँदा समेत लक्ष्मणले रुबीसंग फोनमार्फत कुरा गरिरहन्थे । रुबी र लक्ष्मणले पुरानो प्रेम बिर्सिन नसकेको पत्रकार निरमनी बताउँछन् । लक्ष्मणले आफ्नो छातीमा रुबीको तस्बिर र पाखुरामा उनको नामको ‘ट्याटु’ खोपेका थिए । उनीहरुको गहिरो प्रेम ट्याटुमा समेत प्रष्ट देखिन्छ ।
लक्ष्मण एक महिना अघि मलोशियाबाट नेपाल फर्केका थिए । रुबी केही समययता छोरा पढाउने भन्दै भारतबाट रौतहट आएकी थिइन् । एक महिनायता रुबी र लक्ष्मणबीच गौरमा भेटघाट भइरहन्थ्यो ।
रुबी गौरमा बस्ने भएकाले लक्ष्मणले पनि गौरमै कोठा भाडामा लिएर बस्न थालेका थिए । यसै शिलशिलामा उनीहरुको भेटघाट बाक्लो हुँदै गएको र रुबी शनिबार साँझ लक्ष्मणको डेरामा पुगेकी थिइन् ।
उनीहरुबीच पुरानो कुराहरु हुँदै जाँदा दुबैजना मर्ने निष्कर्षमा पुगेको पत्रकार सिकेन्द्र पासवान बताउँछन् । ‘मलाई तैले मार, तैले मलाई मार भन्दा भन्दै यिनीहरुको जुहारी रातको ९ बजे सम्म चल्या जस्तो देखिन्छ । जुवारी चल्दाचल्दै लास्टमा केटाले घाँटी थिचेर मारेको जस्तो देखिन्छ ।’ उनले भने ।
रुबीको हत्या पछि लक्ष्मणले मलेशियाबाट फर्किदा ल्याएको सुटकेशमा रुबीको शवलाई राखेर रिक्सा चालकलाई पाँच सय रुपैयाँ दिई फ्याक्न पठएका थिए । रिक्सा चालकले गौर–सिर्सिया सडकखण्डस्थित मुडवलगेट नजिकै सुटकेश छाडेर फरार भए पछि घटना बाहिरिएको थियो ।
प्रहरीले घटनामा संलग्नलाई खोजी गरिरहेका बेला लक्ष्मणले बुधबार बिहान भिडियो रेकर्ड गरि हत्या आफैले गरेको स्वीकार गरेका थिए । उनले भिडियोमार्फत आफुहरु गहिरो प्रेममा रहेको र प्रेम सम्वन्ध सफल हुन नसकेकै कारण दुबै जनाले मृत्युको बाटो रोजेको उनले बताएका छन् ।
लक्ष्मणले भिडियोमार्फत भनेका छन्, ‘उनले अब म बाँच्दिन मर्छु भनिन् । मैले तिमी किन मर्छौ? म मर्छु भने । तिमी बिना म बाँच्दिन भने । त्यसपछि तनाव भयो । त्यसपछि मैले उनलाई मारे । म पनि मर्न खोजिरहेको थिए ।’
भिडियोमार्फत लक्ष्मणले ‘मेरो जान मरिसकेको छ, म बाँचेर के हुन्छ? म पनि मर्छु ।’ भनेका थिए । उनले ९ मिनेट ३६ सेकेन्डको भिडियो रेकर्ड गरि फेसबुकमा अपलोड गरेर आफैमाथि पेट्रोल खन्याइ आत्मदाह गरेका थिए ।
शरिरको ६० प्रतिशत भाग जलेको अवस्थामा लक्ष्मणलाई रौतहटको माधव नारायण नगरपालिका–६ स्थित खेतबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको थियो । उनको ‘नेपाल क्लेफ्ट एण्ड बर्न अस्पताल’ कीर्तिपुरमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको थियो ।
रुबीको हत्या र लक्ष्मणको आत्मदाहको मुख्य कारण समाजमा रहेको जातीय बिभेद नै मुख्य रहेको नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका दलित अधिकारकर्मी सिकेन्द्र पासवानले बताए । उनले भने, ‘उनीहरुको प्रेम समाजले स्वीकार गरेको भए यस्तो घटना हुने नै थिएन । समाजले अन्र्तजातीय प्रेम समवन्धलाई स्वीकार गर्न नसक्दाको प्रतिफल हो यो ।’
जातीय बिभेद र सफल हुन नसकेको अन्तर्जातीय प्रेमले निम्त्याएको दुर्घटनामा रुबी र लक्ष्मणले ज्यान गुमाउनु परेको उनले बताए ।