
काठमाडौँ । अछाममा छाउ गोठमा सुत्न गएका महिला र बालिकाको मृत्यु भएको छ । त्रिपालले बारेर बनाइएको छाउगोठमा ढुङ्गा खस्दा पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखुलीमा ३५ वर्षीया निमा खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको मृत्यु भएको हो ।
महिनावारी भएपछि निमा र कविता गतराती त्रिपालले बारिएको छाउगोठमा सुत्न गएका थिए । कविताकी आमा रत्ना पनि उक्त छाउगोठमा संगै सुतेकी थिइन् । शुक्रबार बिहान ५ बजे अविरल वर्षापछि छाउगोठमाथि पहिरोसँगै खसेको थियो ।
ढुंगाले थिँचिएर कविता र निमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
पञ्चदेवल विनायक–८ का वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार गंभिर रत्ना घाइते भएकी छिन् । उनको टाउकोमा चोट लागेको हुँदा उपचारका लागि अस्पताल पठाइएको छ ।
अछामलगायत सुदुर पश्चिमका जिल्लाहरुमा छाउगोठमा बिभिन्न कारणले मृत्यु हुने महिलाको संख्या बढ्दो छ । प्रदेश सरकार तथा बिभिन्न संघसंस्थाले छाउगोठ भत्काउने अभियान चलाएपनि महिनावारी भएकाहरुलाई त्रिपाल टाँगेर खेतबारीमा र ओढारमा राख्ने गरेको पाइएको छ ।