
काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)को कार्यालय अगाडि धर्ना दिएका ‘दुध उत्पादक’ किसान र प्रहरीबीच झडप भएको छ । भुक्तानी नपाएको भन्दै दुध उत्पादक किसानहरूले काठमाडौँको लैनचौरस्थित डीडीसीको कार्यालयमा धर्ना दिने क्रममा झडप भएको हो ।
झडपमा परि केही किसानहरु घाइते भएका छन् । दुधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिनु परेको र आफ्ना माग संवोधन हुनुको साटो उल्टै प्रहरीले दमन गरेको भन्दै किसानहरुले खेद ब्यक्त गरेका छन् ।
शान्तिपूर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै अखिल नेपाल किसान महासंघले बिरोध जनाएको छ । महासंघको नेतृत्वमा सुरु भएको प्रदर्शनमा काभ्रे, नुवाकोट, धादिङ लगायत काठमाडौं उपत्यका र आसपासका किसानहरुको सहभागिता छ ।
‘दूधको बक्यौता रुकम भुक्तानी गर्नु पर्ने, ‘दूध सडकमा फाल्नुपर्ने परिस्थितिबाट किसानलाई मुक्त गर्नु पर्ने दुग्ध उत्पादक किसानलाई राहत हुनु पर्ने लगायतका माग राखी डिडिसी धर्ना दिएका थिए ।

