मिर्गौला बिक्रिमा संलग्न गिरोहका नाइके श्यामकृष्ण भण्डारी पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । एक सय भन्दा धेरैको मिर्गौला बिक्रिमा संलग्न गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका ३८ वर्षिय श्यामकृष्ण भण्डारीलाई पक्राउ गरेको हो ।

भारतीय आधारकार्ड समेत बनाएर उनी विगत तीन वर्षदेखि भारतको नयाँदिल्ली बस्दै आएका थिए । सोझा र आर्थिक अवस्था कमजोर भएका नेपालीलाई फकाएर भारतमा लगी उनकै नेतृत्वको गिरोहले मिर्गौला बिक्रि गर्दै आएको ब्यूरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले बताए ।

सोधपुछको क्रममा उनले २५ जनाको मिर्गौला झिक्न लगाई पैसा लिएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी पंगेनीले भने,‘हाम्रो सूचनामा उनले एक सय भन्दा धेरैको मिर्गौला बिक्रि गरिसकेका छन् ।’

भारतका बिभिन्न अस्पताल तथा क्लिनिकमा मिर्गौला निकाल्ने गरिएको प्रहरीले जनाएको छ । ६ लाख रुपैयाँ दिने भनेर लैजाने र कतिपयलाई त्यो पैसा पनि नदिने गरेको प्रहरीले जनाएको छ । सो गिरोहमा आबद्ध भण्डारीका सहयोगी सिन्धुपाल्चोकको इन्द्रावती–२ का सुजन भारतीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यसअघि गत २९ साउनमा पक्राउ परेका राकेश नेपाली, समिर नेपाली तथा राजकुमार नेपालीलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा यो गिरोह पत्ता लागेको हो । ब्यूरो स्रोतका अनुसार उनीहरुलाई भारतबाटै पक्राउ गरी ल्याइएको हो ।

प्रहरीले भण्डारीलाई कञ्चनपुर तथा भारतीलाई वीरगञ्जमा पक्राउ गरिएको भनेर सार्वजनिक गरेको छ । सो गिरोहविरुद्ध पाँच जनाले प्रहरीमा जाहेरी दिइसकेका छन् ।