
ललितपुर । विश्व अंगदान दिवस २०२६ को अवसरमा स्वास्थ्य अभियान नेपालले नेपालमा मस्तिष्क मृत्युबाट हुने अंगदानलाई प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएको छ ।
स्वास्थ्य अभियान नेपालले आयोजना गरेको कार्यक्रममा चिकित्सक, अंग प्रत्यारोपण विशेषज्ञ, धार्मिक गुरु, कलाकार, सञ्चारकर्मी, अंग प्रत्यारोपण गराएका व्यक्ति, अंगदाता परिवार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रममा नेपालमा अंग प्रत्यारोपणको वर्तमान अवस्था, मस्तिष्क मृत्युबाट हुने अंगदानको सम्भावना, कानुनी व्यवस्था, अस्पतालको भूमिका, जनचेतना तथा धार्मिक मान्यताबारे छलफल गरिएको थियो ।
कार्यक्रममा अंग प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा पछिल्लो समय जटिल अंग प्रत्यारोपणसमेत सम्भव भएको बताए । उनका अनुसार नेपालमा सन् २००८ मा मिर्गौला र सन् २०१६ मा कलेजो प्रत्यारोपण सेवा सुरु भएको हो। हालसम्म करिब तीन हजार जनाको मिर्गौला र ७५ जनाको कलेजो प्रत्यारोपण भइसकेको उनले जानकारी दिए।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने अंगदानलाई प्रत्यारोपण सेवाको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै डा. श्रेष्ठले एक जना मृत अंगदाताबाट आठभन्दा बढी बिरामीको जीवन बचाउन सकिने बताए । नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्न कानुनी व्यवस्था भए पनि हालसम्म ९ जना मृत अंगदाताबाट मात्र २३ वटा ठोस अंग प्रत्यारोपण सम्भव भएको उनले बताए । तीमध्ये १७ वटा मिर्गौला, पाँच वटा कलेजो र एउटा संयुक्त कलेजो-मिर्गौला प्रत्यारोपण भएको छ।
डा.श्रेष्ठले जनचेतना मात्र पर्याप्त नभई सम्भावित अंगदाता पहिचान, मस्तिष्क मृत्युको समयमै घोषणा, परिवारसँग समन्वय तथा अंग संकलन र प्रत्यारोपणका लागि आवश्यक संरचना सुदृढ गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा वक्ताहरूले अंगदानबारे पर्याप्त जनचेतना नहुँदा नेपालमा रहेको ठूलो सम्भावना उपयोग हुन नसकेको बताए । अंग प्रत्यारोपणको पर्खाइमा रहेका बिरामीको संख्या ठूलो भए पनि दाताको अभाव प्रमुख चुनौती बनेको उनीहरूको भनाइ थियो । मृत्यु भएपछि अंग खेर जानुभन्दा दान गरेर अरूको जीवन बचाउन सकिने भएकाले अंगदानलाई सामाजिक संस्कारका रूपमा विकास गर्नुपर्नेमा उनीहरूले जोड दिए।
वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले मस्तिष्क मृत्युबारे समाजमा अझै भ्रम रहेको बताए। मस्तिष्क मृत्यु भएपछि पनि बिरामी बाँच्न सक्ने अवस्था रहेको गलत बुझाइका कारण परिवारलाई अंगदानका लागि सहमत गराउन कठिन हुने उनले बताए। अस्पतालमा सम्भावित मस्तिष्क मृत्यु भएका बिरामी पहिचान गरी सम्बन्धित संयन्त्रलाई समयमै जानकारी गराउने व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
कलाकार मदनकृष्ण श्रेष्ठले अंगदान मानव सेवाको महान कार्य भएको बताए । मृत्युपछि पनि अरूलाई जीवन दिन सकिने भएकाले अंगदानको महत्व समाजले बुझ्नुपर्ने उनको भनाइ थियो।

वरिष्ठ चिकित्सक डा. भोला रिजालले अंगदानलाई स्वास्थ्य क्षेत्रको विषयमा मात्र सीमित नराखी सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्ने बताए। अंगदानसम्बन्धी सकारात्मक सोच विकास गर्न चिकित्सक, सञ्चारमाध्यम, नागरिक समाज र राज्य सबैको भूमिका महत्त्वपूर्ण हुने उनले बताए।
गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले अंगदानको संस्कृति विकास गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताए। निरन्तर जनचेतना र सकारात्मक सन्देश प्रवाहमार्फत अंगदानप्रति समाजमा सकारात्मक वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा मस्तिष्क मृत्युबाट हुने अंगदानलाई प्रभावकारी बनाउन विभिन्न पक्षबीच सहकार्य गर्ने प्रतिबद्धतासहित ‘काठमाडौँ घोषणा’ समेत गरिएको स्वास्थ्य अभियान नेपालले जनाएको छ।