जलवायु सूचना सबैको पहुँचमा पुर्‍याउन डिजिटल माध्यमको प्रयोग बढाइँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायुसम्बन्धी सूचना, तथ्यांक र पूर्वानुमानलाई सबैको पहुँचमा पुर्‍याउन डिजिटल माध्यमको प्रयोगमा मन्त्रालयले जोड दिएको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले जलवायुसम्बन्धी सूचना तथा तथ्यांकलाई समुदाय र युवाले सहज रूपमा बुझ्न सक्ने गरी सामाजिक सञ्जाललगायत डिजिटल माध्यमबाट सार्वजनिक गर्ने काम भइरहेको बताइन् ।

उनले जलवायु सूचनाको डिजिटलाइजेसनसँगै त्यसको पहुँच विस्तारमा मन्त्रालय केन्द्रित रहेको उल्लेख गरिन् । जलवायु परिवर्तनका कारण जोखिममा रहेका विपन्न समुदायसम्म पुग्ने गरी जलवायु वित्तलाई पारदर्शी, अनुगमनयोग्य र नतिजामुखी बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

मन्त्री चौधरीले जलवायुसम्बन्धी नीतिलाई कागजमै सीमित नराखी वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र स्थानीय ज्ञानमा आधारित भएर कार्यान्वयनमा लैजाने योजना रहेको बताइन् ।

जलवायुसम्बन्धी नीति निर्माण, अनुगमन तथा निर्णय प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता आवश्यक रहेको भन्दै उनले यसका लागि सरकारको ढोका सधैं खुला रहेको स्पष्ट पारिन् ।