रोल्पामा फेरि पहिरो, घर पुरिँदा दम्पतीसहित तीन जना बेपत्ता

दियोपोस्ट संवाददाता

रोल्पा । रोल्पामा लगातार परेको अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिँदा दम्पतीसहित तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीबार राति सुनछहरी गाउँपालिका-२ स्थित फलबाङ गाउँमा पहिरोले घर पुरिँदा घरधनी वीरबहादुर घर्तीमगर, उनकी श्रीमती शनी घर्तीमगर र घरमा बास बस्न आएकी छिमेकी लली घर्तीमगर बेपत्ता भएका हुन्।

पहिरोले घर पुरिएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले बेपत्ताको खोजी तथा पहिरो हटाउने काम गरिरहेको जनाएको छ । यसैबीच, सुनछहरी गाउँपालिका-२ कै गिट्ठे गाउँमा लादे बुढामगरको घरसमेत पहिरोले पुरिएको प्रहरीले जनाएको छ। उक्त घटनामा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ।