फोहोर व्यवस्थापनमा राजनीतिकरण होइन, दिगो समाधान खोजौँ : मन्त्री तिमिल्सिना

दियोपोस्ट संवाददाता

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपत्कालको रूपमा लिनुपर्ने बताएका छन् ।
शुक्रबार पूर्वाधार विकास मन्त्रालयमा आयोजित काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन सम्बन्धी छलफलमा मन्त्री तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई संघीय वा स्थानीय निकायको सामान्य विवादका रूपमा नभई राष्ट्रिय आपत्कालको रूपमा लिनुपर्ने बताएका हुन् ।

यस विषयमा स्थानीय सरकारले संघीय सरकारबाट राखेका अपेक्षाहरू पूरा गर्न र आवश्यक सहजीकरण गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले बताए ।

काठमाडौँ महानगरपालिकाले जग्गा माग गरेपछि भूमि व्यवस्था मन्त्रालय र मालपोत कार्यालयसँग आफूले छलफल गरेको र हालको मौजुदा ऐन-कानुनले प्रशासनिक भवन निर्माणबाहेक अन्य प्रयोजनका लागि संघीय सरकारले स्थानीय सरकारलाई जग्गा उपलब्ध गराउन कानुनी कठिनाइ रहेको जानकारी आफूले पाएको उनले बताए ।

उनले यस समस्या समाधानका लागि आवश्यकता अनुसार ऐन, कानुन वा नियमावली संशोधन गरेर भए पनि मन्त्रिपरिषद्बाटै निकास निकाल्ने गरी तयारी गर्ने प्रतिबद्धता जनाए । फोहोर व्यवस्थापनको संवेदनशील विषयमा दोषारोपण र राजनीतिकरण नगरी समस्याको दिगो समाधान खोज्न सबै पक्ष केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

सिफारिस