
काठमाडौँ । प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपुरले बाढी प्रभावित क्षेत्रमा प्रदूषित नदी तथा खोलाबाट प्राप्त हुने माछा तथा अन्य जलीय जीवको सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सुवा बाढीपछि बाढीले बगाएर ल्याएका मानव शव, चौपाया तथा अन्य मरेका जीवजन्तुका कारण पानी प्रदूषित भई विभिन्न किसिमका सरुवा रोग फैलिन सक्ने सम्भावना रहेको कार्यालयले जनाएको छ।
बाढीपछि विभिन्न स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै कार्यालयले सातबुँदे स्वास्थ्य तथा सरसफाइसम्बन्धी निर्देशन जारी गरेको हो।
कार्यालयले प्रदूषित नदी तथा खोलाको पानीमा पौडी नखेल्न तथा त्यस्तो पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरेको छ। प्रदूषित पानीका कारण आउँ, हैजा, टाइफाइड, हेपाटाइटिस ‘ए’ र ‘ई’ लगायत झाडापखालाजन्य रोगको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।
त्यस्तै, खाद्य पदार्थ राम्रोसँग पकाएर मात्र खान तथा काँचो र पकाएको खाना छुट्टाछुट्टै राख्न आग्रह गरिएको छ। बाढीको पानीमा डुबेको, दूषित, कुहिएको वा गन्हाएको खाद्य पदार्थ सेवन नगर्न पनि कार्यालयले अनुरोध गरेको छ।
बाढीपछिको अवस्थामा डेंगु, जापानिज इन्सेफ्लाइटिसलगायत लामखुट्टेबाट सर्ने रोग तथा सर्पदंशको जोखिमसमेत बढ्न सक्ने भएकाले घर वरिपरि पानी जम्न नदिन विशेष ध्यान दिन भनिएको छ। झुल प्रयोग गर्ने, लामो बाहुलाको कपडा लगाउने, राति हिँड्दा टर्चलाइट प्रयोग गर्ने तथा सुत्नुअघि ओछ्यान जाँच गर्नसमेत आग्रह गरिएको छ।
प्राकृतिक विपद्पछि मानसिक तथा मनोसामाजिक समस्या बढ्न सक्ने भएकाले मानसिक स्वास्थ्यको समेत विशेष ख्याल राख्न कार्यालयले अनुरोध गरेको छ।
नदी तथा खोला किनारमा मानव शव वा मरेका जीवजन्तु फेला परेमा तत्काल सम्बन्धित स्थानीय तह तथा नेपाल प्रहरीलाई जानकारी गराउन पनि प्रदेश जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ।