काठमाडौं, ३१ साउन । पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा चर्चित पत्रकार रवी लामिछाने र युवराज कँडेल सहित अस्मिता कार्की यतिबेला प्रहरी हिरासतमा छन् । उनीहरुलाई आत्महत्या गर्नुअघि पुडासैनीले दिएको भिडियो सन्देशकै कारण प्रहरीले पक्राउ गरेको हो ।
पुडासैनीले भिडियो सन्देशमा अन्य कुरा पनि भनेका थिए । जसमा रवी मात्रै जोडिएका थिएनन् एउटा एजेन्सी पनि जोडिएको थियो ।
‘रवी लामिछाने तिमीलाई एक दिन पाप लाग्छ । दुनियाँलाई थर्काएका छौ । कतिसँग करोडौं घुस लिएका छौ । मलाई भनिस् भनि मार्दिन्छु भन्थ्यौ । रवी… रवी लामिछाने तिमीलाई एक दिन पोल्नेछ छ त्यो पैसाले । याद गर,’ भिडियो सन्देशमा पुडासैनीले भनेका छन्,‘रवीका अन्धभक्तहरु केहीले भन्लान रवी राम्रो हो भनेर । तर रविको असली रुप देखिन अझै केही वर्ष लाग्छ । रवीले आफैले सिधै आफूले पैसा लिँदैन । वेलकम मार्फत । वेलकम एडभर्टाइजले सिधा कुरामा विज्ञापन गर्छ । त्यसले पैसा उठाउँछ । त्यसको केही प्रमाणहरु अहिले मसँग पनि छन् ।’
भिडियोमा उनले भनेको वेलकम एडभटाइजिङको वेभसाइटमा हेर्दा केही सत्यता पाइएको छ ।
निर्मल पौडेल अध्यक्ष रहेको उक्त कम्पनिमा उनकै श्रीमती निता पौडेल म्यानेजर छिन् भने रवी लामीछाने कन्सल्ट्यान्ट र पीआर हेडको रुपमा कार्यरत रहेका छन् ।
लामीछानेलाई देखाएर वेलकम एडभटाइजिङले कमाउ धन्दा नै चलाएको विषय यसअघि पनि नआएको भने होइन । तर, पुडासैनीले आत्महत्या गर्नुअघि नै भनेपछि भने सर्वत्र चासो बढेको छ ।
हिन्दु समाजमा मृत्युअघि बोलेका कुरालाई बलियो प्रमाण मानिन्छ र मर्नुअघि सत्य बोल्नुपर्छ भन्ने मान्यता समेत छ ।
मृत्युकालिक कथनलाई प्रमाण ऐन २०३१ ले बलियो प्रमाणको रुपमा समेत लिने गर्छ । प्रहरीले पुडासैनीको रेकर्डलाई मृत्युकालिक कथन (डाइङ डिक्लेरेशन) मानेर अनुसन्धान गरिरहेको छ । सोही भिडियो रेकर्डका आधारमा विहिबार लामिछाने, कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत साउन २० गते पत्रकार पुडासैनी चितवनको कंगारु होटलमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।
पुडासैनीले उल्लेख गरेको वेलकम एडभटाइजिङ मार्फत रवी लामिछानेको नाम लिँदै निर्मल पौडेलले विज्ञापन बजारमा आतंक मच्चाउने गरेको स्रोतको दाबी छ । यद्धपी शालिकरामसँग रहेको प्रमाण भने बाहिर आइसकेको छैन । प्रमाण बाहिर नआएको हुनाले करोडौंको धन्दा के थियो ? भन्ने प्रश्न रहस्यको गर्भमै छ । प्रहरीले अनुसन्धानका क्रममा वेलकमलाई पनि छानबीनको दायरमा नल्याएसम्म सत्य बाहिर आउनसक्दैन ।