
काबुल । अफगानिस्तानको पूर्वी क्षेत्रमा गएराति आएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति भएको छ। मध्यराति करिब ११ः४७ बजे गएको ६.० म्याग्निच्युडको भूकम्पको केन्द्र नंगरहर र कु़नार प्रान्तको सिमानामा रहेको बताइएको छ।
भूकम्पका कारण कम्तिमा २ सय जनाभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको जनाएको छ।
नंगरहर प्रान्तको दाराइ नूर जिल्ला र आसपासका गाउँहरूमा सिंगो बस्ती ध्वस्त भएको खबर आएको छ। कैयौं घर भत्किँदा मानिसहरू भग्नावशेषमा पुरिएको आशंका गरिएको छ। उद्धार टोलीले भग्नावशेषभित्र अझै धेरै मानिस फसेको हुन सक्ने बताएको छ।
कुनार प्रान्तमा समेत ठूलो क्षति भएको बताइएको छ । जहाँ कतिपय गाउँहरू पूर्णरूपमा भग्नावशेष बनेका छन्। प्रारम्भिक विवरणअनुसार घाइतेहरूको संख्या ५ सय भन्दा माथि पुगिसकेको छ। अस्पतालमा क्षमता नपुग्दा घाइतेलाई अस्थायी उपचार केन्द्रहरूमा राखिएको छ।
भूकम्पको धक्का अफगानिस्तान मात्र नभई छिमेकी पाकिस्तानसम्म महसुस गरिएको थियो। स्थानीय बासिन्दाहरू रातभर घर बाहिरै बस्न बाध्य भएका थिए।
सरकार र राहत संस्था तथा स्वयंसेवकहरू उद्धार कार्यमा जुटेका छन्। दुर्गम क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको र मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने बताइएको छ।