
काठमाडौँ । रूपन्देही क्षेत्र नम्बर ३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. लेखजंग थापालाई उम्मेदवारका रूपमा घोषणा गरेको छ। पेशाले मेडिकल डाक्टर रहेका थापालाई पार्टीले सोमबार उम्मेदवारी दिने निर्णय गरेको हो।
थापा विरुद्ध बहुविवाह सम्बन्धी आरोप लाग्दै आएको छ। उनीमाथि सो विषयमा प्रश्न उठाइँदै आएता पनि रास्वपाले भने उनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीका नेताहरूले आरोपबारे अदालत वा कानुनी निकायले टुंगो लगाउने कुरा भएको भन्दै उम्मेदवारीमा कुनै बाधा नरहेको दाबी गरेका छन्।
रास्वपाले भने कानुनी रूपले टुंगो नरहेको भन्दै यसलाई उम्मेदवारीको बाधा नभएको बताउँदै आएको छ। स्वपाले पार्टी सचिवालय बैठकबाट ९ जना आकांक्षीमध्येबाट वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई औपचारिक रूपमा उम्मेदवार बनाएको छ।
डा. थापाले आकांक्षीहरू सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्रीसंग आन्तरिक प्रतिस्पर्धा गरेका थिए ।
आन्तरिक प्राइमरी मतादानका क्रममा थापाले सबैभन्दा बढी मत प्राप्त गरेपछि उनलाई रास्वपाले उम्मेद्वार बनाएको थियो । डा. थापा मेडिकल डाक्टर हुन्, एमबीबीएस पूरा गरेको, इन्टरनल मेडिसिनमा एमडी र न्युरोलोजीमा डीएम एमडी उपाधि प्राप्त गरेका छन्।