मोरङ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सार्वजनिक स्थलको रिपोर्टिङ गरिरहेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै अवरोध गरेका छन् । मोरङको सुन्दरहरैँचा ७ स्थित गछिया खोलामा निर्माण गर्न लागिएको क्रसरको विषयमा विवाद भएपछि अनुगमनमा पुगेका प्रजिअ यादवले रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै रोक लगएका हुन् ।
स्थानीवासी, क्रसरका सञ्चालक, जिल्ला समन्वय समिति प्रमुख अजम्वर राई र नगर प्रमुख केदार गुरागागईसहितको उपस्थितिमा भएको कुराकानीको छायाँकन गरिरहेका पत्रकारहरु भिडियो नखिच्न भन्दै यादवले पत्रकारलाई हप्कीदप्की समेत गरेको स्रोतको भनाई छ ।
नेपाल पत्रकार महासंघ मोरङका सहसचिव तथा मोरङ खबरका सञ्चालक रेवतीरमण निरौला, विराट टेलिभिजन इटहरीका विकल पौडेल, न्यूज २४ टेलिभिजनका मनोज भुजेल र पूर्वी अनलाइनका पत्रकार कृष्णचन्द्र सुवेदीलाई भिडियो नखिच्न भन्दै रोक लगाएका थिए ।
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठकले सार्वजनिक स्थलमा भिडियो रिपोर्टिङ गरिरेहको अवस्थामा जनप्रतिनिधहरुको अगाडी प्रमुख जिल्ला अधिकारीले भिडियो खिच्न रोक लगाउँदै दुर्ब्यवहार गर्नु दुःखद भएको बताए ।
प्रमुख जिल्ला अधिकारीको यो कार्य सूचनाको हक सम्बन्धि ऐन र प्रेस स्वतन्त्रताको मर्म विपरित रहेकाले राज्यका निकायमा बसेकाहरुले यस्ता कार्यहरु सच्याउनुपर्ने उनको भनाई छ ।

